काठमाडौँ- योगदानमा आधारित सामाजिक सुरक्षा कोष, शिक्षक तथा विद्यालय कर्मचारीको दुर्गम भत्ता, ग्रेड, सरुवा, ९ बुँदे सहमति कार्यान्वयन, राहत शिक्षक, दरबन्दीलगायतका शिक्षकका विभिन्न मागमा शिक्षा सचिव चूडामणि पौडेलसँग छलफल भए पनि ठोस प्रगति नभएको नेपाल राष्ट्रिय शिक्षक संगठनले जनाएको छ।
संगठनका अध्यक्ष हंसबहादुर शाही र महासचिव प्रकाश खनालले मंगलबार शिक्षा सचिव पौडेलसँग भेट गरी यी विषयमा छलफल गरेका थिए। छलफलपछि अध्यक्ष शाहीले सरकारले शिक्षकका मुद्दामा गम्भीरता नदेखाएको हिमालप्रेसलाई बताए।
शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउने विषयमा सामान्य छलफल भए पनि त्यसबाहेक अन्य विषयमा कुनै ठोस निर्णय नभएको जानकारी शिक्षा सचिव पाैडेलबाट पाइएको अध्यक्ष शाहीले जानकारी दिए।
शिक्षक सरुवाको विषयमा पनि स्पष्ट धारणा नआएको बताइएको छ। दुर्गम भत्ताको विषय अर्थ मन्त्रालयले प्रक्रिया अघि नबढाएको भन्दै तत्काल सम्भावना नरहेको जानकारी शिक्षा सचिवले दिएको अध्यक्ष शाहीले बताएका छन्।
यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा पनि ठोस काम हुन नसकेको र आगामी बजेट निर्वाचन केन्द्रित भएकाले शिक्षकका माग ओझेलमा परेको बताइएको छ।
सबै शैक्षिक मुद्दा अप्ठ्यारो अवस्थामा पुगेको र वर्तमान सरकारले शिक्षकका समस्या समाधान गर्ला भन्ने आशा कमजोर हुँदै गएको उनले बताए।
अध्यक्ष शाहीले हिमालप्रेसलाई भने, ‘सकारात्मक प्रगति केही पनि छैन। शिक्षकको ग्रेडको विषय निजामती कर्मचारी सरह गर्ने भन्ने कुराचाहिँ भएको छ (शिक्षा सचिव) भन्नुभयो। शिक्षक सरुवाको विषयमा पनि खासै केही कुरा भएन। दुर्गम भत्ता अर्थ मन्त्रालयले पठाएन। सम्भावना नै छैनजस्तो कुरा गर्नुभयो। सामाजिक सुरक्षा कोषको विषयमा पनि ठोस काम भएको छैन। बजेट निर्वाचनमा केन्द्रित गरिएको बताउनुभयो। सबै विषयमा अफठ्यारो स्थिति आयो। यो सरकारले केही गर्लाजस्तो देखिएन।’



