बालेन ‘कार्ड’ ले मधेशमा उकासिएला रास्वपा?

धैर्यकान्त दत्त २२ पुष २०८२ १६:२१
52
SHARES
बालेन ‘कार्ड’ ले मधेशमा उकासिएला रास्वपा?

काठमाडौँ– स्वतन्त्र रूपमा उम्मेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन्द्र साह (बालेन) अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता भएका छन्। हालसालै आफ्नो समूहलाई रास्वपामा समाहित गरेका बालेनले वरिष्ठ नेताको जिम्मेवारी पाएका हुन्।

रास्वपाका सभापति रवि लामिछाने अदालतको आदेशपछि हिरासतमुक्त भएपछि बालेन, कुलमान घिसिङलगायतलाई पार्टीमा समाहित गराउने अभियानमा जुटे। रविको यो अभियानले सफलतासमेत पाएको छ।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजनीतिक दलहरूबीच ध्रवीकरण बढिरहेको बेला काठमाडौँका मेयर बालेन रास्वपामा समाहित भएपछि मधेशमा पार्न सक्ने प्रभावलाई चासोका साथ हेरिएको छ।

रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेपछि मधेशको राजनीतिमा पर्ने सक्ने प्रभावलाई गम्भीरताका साथ हेर्न थालिएको हो।

बाक्लो जनघनत्वका कारण पनि चुनावका बेला सबै राजनीतिक दलको प्राथमिकतामा मधेश पर्ने गरेको छ। प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभा निर्वाचनमा संख्याका हिसाबले बागमती प्रदेशपछि मधेश दोस्रो स्थानमा पर्छ।

प्रत्यक्ष प्रणालीबाट निर्वाचित भएर आउने १६५ मध्ये ३३ जना बागमतीबाट पर्छन् भने मधेश प्रदेशबाट ३२ जना। त्यस्तै समानुपातिक प्रणालीलाई मधेशको मतदाताको बलियो भरथेग हुने गरेको छ। अन्य प्रदेशको तुलनामा मधेश र बागमतीबाट समानुपातिकतर्फ बढी सांसद निर्वाचित हुन्छन्। यी दुवै प्रदेशको जनसंख्या पनि लगभग सामान छ। सरकारी तथ्यांकअनुसार मुलुकको कुल जनसंख्याको करिब २१ प्रतिशत जनसंख्या यी दुई प्रदेशमा छन्।

निर्धारित समयअगावै प्रतिनिधिसभा सदस्य निर्वाचन हुन थालेपछि मधेशमा दलहरूको पकडबारे पनि चर्चा सुरु भएको छ। पहिलोपटक २०७९ सालको निर्वाचनमा भाग लिएको रास्वपाले बागमती प्रदेशका चितवन र काठमाडौँको सहरी क्षेत्रमा प्रभावशाली देखिए पनि मधेशमा आफ्नो उपस्थिति देखाउन सकेन।

प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको रास्वपाले समानुपातिकतर्फ भने सन्तोषजनक मत प्राप्त गरेको थियो। २०८० वैखाखमा बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा समेत रास्वपाले राम्रो प्रदर्शन गर्न सकेन। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपाका उम्मेवार रमेश खरेललाई २५ हजारभन्दा बढी मतले पराजित गरे। खरेल चौथो स्थानमा सीमित भएका थिए।

समानुपातिक प्रणालीतर्फ भने रास्वपाले मधेश प्रदेशबाट ६८ हजार ६२८ मत प्राप्त गरेको थियो। सबैभन्दा बढी बाराबाट १७ हजार ९२७ मत गरेको रास्वपालाई सप्तरीबाट सबैभन्दा कम ३ हजार ५१७ मत प्राप्त भएको थियो।

जेनजी प्रदर्शनपछि राजनीतिक ‘एजेन्डा’ फेरिएकाले यसपालि मधेशमा पार्टीले राम्रो प्रदर्शन गर्ने रास्वपा नेताहरूको भनाइ छ। बालेन, कुलमानलगायतका नेताहरूसँग एकीकरण भएपछि मधेशलाई फरक ढंगले समेट्ने योजना बनाएका रास्वपाका नेताहरू मधेशमा पार्टीको अवस्थामा उल्लेख्य सुधार आएको बताएका छन्।

रास्वपाका प्रवक्ता मनीष झा एकजना मधेशीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि बढाएपछि मधेशमा निश्चय पनि सकारात्मक प्रभाव पर्ने बताउँछन्। बालेन मधेशी मात्रै नभएर कुशल व्यवस्थापकसमेत रहेकाले आगामी निर्वाचनमा मधेशमा आफूहरूको उल्लेख्य उपस्थिति हुनु उनले बताए।

‘मधेशी प्रधानमन्त्री हुन गइरहेको छ, यसको इम्प्याक्ट पक्कै पनि रहन्छ,’ झा भन्छन्, ‘मधेशीमात्रै होइन उहाँ आशाको अनुहारसमेत हुनुहुन्छ, कुशल व्यवस्थापक, सफल अभियन्ता हुनुहुन्छ। आगामी निर्वाचनमा यसको राम्रो प्रभाव पर्नेमा हामी ढुक्क छौँ।’

यसअघि मधेशको राजनीतितर्फ ज्यादै ध्यान नदिए पनि पछिल्लो समय गम्भीरताका साथ केन्द्रित हुन थालेको उनले बताए।

महोत्तरीको एकडारा बेला गाउँपालिका स्थायी घर भएका बालेनलाई पार्टीको वरिष्ठ नेताका साथै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि मधेशमा राम्रो प्रदर्शन गर्ने बुझाइ रास्वपा नेताहरूको छ। यसका साथै जेनजी प्रदर्शनले उठाएका सुशासन, पुस्तान्तरणजस्ता एजेन्डामा आफूहरूमात्र उत्रिन सक्ने दाबी उनीहरू गर्छन्।

रास्वपाका नेताहरूको दाबीअनुसार मधेशमा रास्वपाको उपस्थितिबारे अहिल्यै निर्क्योल गर्न हतार हुने विश्लेषकहरूको भनाइ छ। कतिपय राजनीतिका जानकारहरूले त ‘बालेन कार्ड’ कै कारण मधेशको राजनीतिमा खासै प्रभाव नपर्ने तर्क गर्छन्।

मधेश मामिलाका जानकार रोशन जनकपुरी रवि-बालेनको गठजोडलाई चासोका साथ हेरिए पनि भुइँतहको राजनीतिमा यसले खासै प्रभाव नपार्ने बताउँछन्। काठमाडौँको लोकप्रियताले मधेशको राजनीति प्रभावित नहुने उनको भनाइ छ।

‘भोट राजनीतिलाई धेरै फ्याक्टरहरूले प्रभावित गरिरहेका हुन्छन्, खास गरेर पार्टी संगठनको बढी जरुरी हुन्छ। मधेशमा रास्वपासँग संगठन छैन। मधेशमा ज्यादै चर्चित नेताहरू पनि छैनन्,’ जनकपुरी भन्छन्, ‘भएकाहरूले पनि सांगठनिक रूपमा कमजोर छन्।’

मधेशी समुदायको बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर रास्वपाले मधेशको मतमाथि पकड बनाउन खोजेको देखिन्छ। काठमाडौँका मेयर बालेनले भने आफूलाई सार्वजनिक रूपमा मधेशी समुदायको भनेर अहिलेसम्म प्रस्तुत गरेका छैनन्।

यहाँसम्म कि निर्वाचन आयोगको तथ्यांकमा उनको थरमा ‘साह’ रहे पनि उनले ‘शाह’ लेख्ने गरेका छन्। आफ्नो कार्यकक्षको ‘नेमप्लेट’ मा समेत उनले ठकुरीहरूले प्रयोग गर्ने ‘शाह’ लेख्न लगाएका छन्। बालेन मधेशको वैश्य समुदायका ‘साह’ हुन्।

आफूलाई मधेशी भन्न नरुचाउने ‘बालेन-फ्याक्टर’ ले आसन्न चुनावमा मधेशको राजनीतिलाई धेरै फरक नपार्ने विश्लेषक जनकपुरीको भनाइ छ।

‘बालेन मधेशी हुन्, प्रधानमन्त्रीको क्यान्डिेट हुन् भन्ने न्यारेटिभ बनाउन थालिएको देखिन्छ। तर उनी स्वयंले आफू मधेशी हो भनेर प्रस्तुत गर्न चाहेका छैनन्,’ जनकपुरी भन्छन्, ‘बालेनले आफू मधेशी हो भनेर कहिल्यै भन्न सकेका छैनन्, त्यसैले उनका कारण मधेशमा रास्वपाले पकड बनाउने सम्भावना मैले देखेको छैन।’

विश्लेषक जनकपुरी काठमाडौँका मेयर बालेनलाई एक रहस्यमय पात्रका रूपमा हेरेका छन्। ‘त्यतिमात्रै होइन उनी एक रहस्यमय पात्रका रूपमा रहेका छन्। यद्यपि केही व्यक्तिले उनको पक्षमा न्यारेटिभ बनाउने प्रयास गरिरहेको देखिन्छ,’ उनी भन्छन्, ‘यहाँका पुराना दलहरूले यो कुरालाई उछाल्ने निश्चित छ।’

यसका साथै संघीयताप्रति रास्वपाको दृष्टिकोणका कारण पनि मधेशमा ज्यादै फाइदा प्राप्त नहुने उनको बुझाइ छ। ‘संघीयताप्रतिको रास्वपाको दृष्टिकोण अझै प्रस्ट छैन। संघीयताको सवालमा उसको ढुलमुले नीति देखिन्छ, राष्ट्रियताको पुरानै परिभाषा बोकेर हिँडेको देखिन्छ’, जनकपुरी भन्छन्, ‘अरूथोक जे जति भए पनि संघीयताको सवालमा मधेश दृढ छ। संघीयताको एजेन्डा मधेशले छोड्ने देखिँदैन।’

चुनावी वातावरणमा अरू राजनीतिक शक्तिहरूले वर्चस्व दहुने बताउँदै उनले बालेनकै कारण मधेशमा रास्वपाले धेरै प्रभाव बनाउने सम्भावना न्यून रहेको जिकिर गरे।

मधेश मामिलाका अर्का विश्लेषक तुलानारायण साह भने जनकपुरीको विश्लेषणभन्दा फरक दृष्टिकोण राख्छन्। समग्र राजनीति ध्रुवीकृत भइरहेको अवस्थामा बालेनको प्रवेशपछि रास्वपाले मधेशमा उल्लेख्य उपस्थिति देखाउन सक्ने उनको भनाइ छ।

‘मधेशमा कस्तो प्रभाव रहन्छ अहिल्यै भन्न हतार हुन्छ। अघिल्लो निर्वाचनमा मधेशमा रास्वपाको केही प्रभाव रहेन। जेनजी आन्दोलनपछि नेपालको राजनीतिको समीकरण फेरिएको छ,’ उनी भन्छन्, ‘जेनजी आन्दोलनपछि समग्र नेपाली राजनीतिको ध्रुवीकरण पुरानो भर्सेस नयाँ पार्टीका रूपमा भइरहेको छ। पुरानो पार्टीविरूद्ध मतदान भयो भने बालेनहरूको प्रभाव मधेशमा पनि रहने निश्चित छ।’

विश्लेषक साह कांग्रेस, एमालेका साथै मधेश केन्द्रित दलहरूमाथि पनि प्रश्न रहेकाले बालेन-रवि-कुलमानहरूको प्रभाव मधेशमा रहने दाबी गर्छन्।

‘जुन प्रश्न कांग्रेस, एमाले र माओवादीमाथि देशभर उठेको छ त्यही खालको प्रश्न मधेशमा जसपा, लोसपाहरूमाथि उठेको छ। यिनीहरू पनि पछिल्लो समय सत्तामा पुगिसकेका छन् ’, उनी भन्छन्, ‘यिनीहरूको काम गर्ने तरिकामाथि पनि कांग्रेस, एमाले र माओवादीजस्तै प्रश्नहरू उठेका छन्।’

जेनजी आन्दोलनले नयाँ एजेन्डा स्थापित गरेकाले समग्र देशका साथै मधेशमा पनि प्रभाव पर्ने उनको विश्लेषण छ। अहिलेको ध्रुवीकरण मधेश र पहाडबीच नभएर एजेन्डाको आधारमा भइरहेको साह बताउँछन्।

‘जेनजी आन्दोलनले नयाँ एजेन्डा सेट गरिदिएको छ-भ्रष्टाचारको अन्त्य र नेतृत्व पुस्तान्तरण,’ उनी भन्छन्, ‘अहिलेको ध्रुवीकरणबारे बुझ्न आवश्यक छ, यतिबेला मधेश र पहाडका रूपमा ध्रुवीकरण रहेको छैन। पहिचानका आधारमा अहिलेको राजनीतिक ध्रुवीकरणलाई विश्लेषण गर्नु गलत हुन्छ।’

जेनजी आन्दोलनपछि जातीय वा समुदायका आधारमा राजनीतिक विश्लेषण गर्न नहुने बताउँदै साहले एजेन्डाको हिसाबले छलफल गर्नुपर्ने जिकिर गरे।

‘गुड गभर्नेन्स, सर्भिस डेलिभरी भर्सेस अदर भएको छ। जातीय वा समुदायको आधारमा विश्लेषण गर्नु उपयुक्त हुँदैन,’ साह भन्छन्, ‘मधेशका मतदाताले बालेनलाई मधेशी भएका कारणले नभई कामका आधारमा मत दिनेछन्।’

बालेनले भ्रष्टाचार नगरेको एकखाले बुझाइ मधेशको जनतामा रहेको उनको भनाइ छ।

‘मधेशी भएका कारण बालेनलाई मत दिन्छौँ भन्ने चर्चा मैले पाएको छैन,’ सप्तरीको उदाहरण दिँदै साहले भने, ‘त्यहाँका मतदाताहरू बालेनले राम्रो काम गरेकोले मत दिने भनिरहेका छन्। बालेनले भ्रष्टाचार गरेका छैनन्, बालेनले मधेशका विद्यार्थीहरूलाई काठमाडौँको विद्यालयमा छात्रवृत्ति दिलाएका छन् भन्ने चर्चा छ।’ पहिचान मधेशीमात्रै नभएर नागरिकले काम हेरेरसमेत मूल्यांकन गर्ने भाष्य निर्माण भएको उनको भनाइ छ।

‘पहिचान मधेशीमात्रै नभएर काम हुनुपर्ने भ्रष्टाचार अन्त्य हुनुपर्ने भाष्य बनिरहेको मैले पाएको छु,’ साह भन्छन्, ‘जुन हिसाबले समाज अहिले ध्रुवीकृत भइरहेको छ फागुनमै चुनाव हुने हो भने यो वेभले नेपालमा काम गर्ने पक्का छ।’

प्रकाशित: २२ पुष २०८२ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast