भेनेजुएलामा नयाँ नेतृत्व

अमेरिकाले पत्याएकी चतुर राजनीतिक खेलाडी डेल्सी रोड्रिगेज

हिमाल प्रेस २२ पुष २०८२ १२:३७
अमेरिकाले पत्याएकी चतुर राजनीतिक खेलाडी डेल्सी रोड्रिगेज डेल्सी रोड्रिगेज। तस्बिर : एपी

राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी भेनेजुएलाबाट न्युयोर्कमा मुद्दा चलाउन बाहिर निकाल्ने अमेरिकी अभियानका क्रममा वासिङ्टनले राम्रोसँग चिनेको एक महिलालाई जिम्मेवारीमा छोडेको छ। ती महिला हुन् उपराष्ट्रपति डेल्सी रोड्रिगेज।

रोड्रिगेज एक चतुर राजनीतिक खेलाडी मानिन्छिन्। गत वर्ष उनका राजनीतिज्ञ दाजु जोर्जले वासिङ्टनसँग मादुरोपछिको भविष्यबारे गोप्य वार्ता गरेका थिए। उनी त्यति बेलै भेनेजुएलाकी  संक्रमणकालीन सरकारको प्रमुखका रूपमा परिकल्पना गरिएकी महिला रहेको वार्तासँग परिचित व्यक्तिले फाइनान्सियल टाइम्ससँग बताएका छन्।

वार्तामा मादुरोलाई सुरक्षित निर्वासनमा पठाउने कुरा समावेश थियो। ‘यद्यपि ट्रम्प प्रशासनले केही समयदेखि डेल्सीलाई केन्द्रमा राखेर यो संक्रमण निर्माण गर्दै छन् भन्ने संकेत दिइरहेको थियो’, भेनेजुएलाका एक लगानीकर्ताले भने, ‘अमेरिकासँगका सबै वार्तामा उनी नै सबैभन्दा रचनात्मक थिइन्।

५६ वर्षीया रोड्रिगेजको उदयले उनलाई कठिन सन्तुलनमा राखेको छ। एकातिर उनले भेनेजुएलाका जनतालाई शान्त पार्नुपर्नेछ। अर्कोतिर ट्रम्पबाट वैकल्पिक प्रशंसा र धम्कीको सामना गर्नुपर्नेछ।

ट्रम्पले आइतबार भनेका थिए, ‘भेनेजुएलाका नयाँ नेताहरूले राम्रो व्यवहार गरेनन् भने हामी दोस्रो आक्रमण गर्नेछौँ। रोड्रिगेजले मादुरोभन्दा पनि खराब स्थिति सामना गर्न सक्छिन्।’ प्रत्युत्तरमा रोड्रिगेजले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै अमेरिकातर्फ मेलमिलापको हात फैलाएको धारणा व्यक्त गरिन्।

आफ्नो प्राथमिकता अमेरिका र भेनेजुएलाबीच सन्तुलित र सम्मानजनक अन्तर्राष्ट्रिय सम्बन्धतर्फ अघि बढ्ने उनको भनाइ छ।

शनिबार दिउँसो मन्त्रिपरिषद्को आकस्मिक बैठकमा उनले उच्च सैनिक अधिकारी र राजनीतिक अधिकारीहरूको घेरामा रहँदा हटाइएका मादुरोप्रति सहानुभूति जनाइन्। यो उनको भेनेजुएलाका कट्टरपन्थीहरूलाई साथमा राख्ने प्रयासको प्रारम्भिक संकेत थियो। यसलाई कतिपयले उनको आफ्नै वैचारिक अटलता पनि भनेका छन्।

‘यो देशमा एक मात्र राष्ट्रपति छन् र उनको नाम निकोलास मादुरो हो’, रोड्रिगेजले भनिन्।रोड्रिगेज भेनेजुएलाको सर्वोच्च अदालतले कार्यवाहक राष्ट्रपतीय अधिकार प्रदान गरेको छ।

उता अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले रोड्रिगेजका टिप्पणीहरू घरेलु उपभोगका लागि डिजाइन गरिएको संकत गरेका छन्। उनले आफू रोड्रिगेजसँग सम्पर्कमा भएको स्वीकार गरेका छन्।

‘हामी उनीहरूले के गर्छन् भन्ने आधारमा मूल्यांकन गर्नेछौँ, सार्वजनिक रूपमा के भन्छन् भन्ने होइन। धेरै अवस्थामा विगतमा के गरेका थिए भन्ने होइन, अघि बढ्दा के गर्छन् भन्ने हो,’ रुबियोले भेनेजुएलाको नेतृत्वबारे भनेका छन्।

काराकासका एक कूटनीतिज्ञले रोड्रिगेजको आक्रामक टिप्पणी सत्ता सुदृढीकरण र कट्टर वैचारिकहरूलाई शान्त पार्ने उद्देश्यले गरिएको बताएका छन्। ‘उनी शासनको स्केलको बढी खुला छेउमा छिन्, तर घरेलु वा अन्तर्राष्ट्रिय रूपमा उनलाई बेच्न सजिलो छैन,’ ती कूटनीतिज्ञले भने।

बाइडेन प्रशासनका बेला रोड्रिगेजले चेभ्रोनसहित अन्तर्राष्ट्रिय तेल कम्पनीहरूसँग वार्ताको नेतृत्व गर्दा सकारात्मक सन्देश छाडेकी थिइन्। यही कारण उनीहरूलाई भेनेजुएलामा अनुमति पत्र प्राप्त गर्न सहज भएको थियो। अमेरिकाले यही खेलको अवस्थाको मूल्यांकन गरेको छ। त्यसैले ट्रम्प प्रशासन डेल्सी र उनको टिम मात्रै प्राविधिक, राजनीतिक र क्षेत्रीय क्षमता भएको निष्कर्षमा पुगेको हो।

‘डेल्सीले अमेरिकीहरूले चाहेको कुरा छिट्टै सम्प्नन गर्न सक्छिन्,’ भेनेजुएलामा व्यापारिक सम्बन्ध भएका एक अमेरिकी व्यापारीले भनेका छन्। १९६९ मा काराकासमा जन्मेकी रोड्रिगेजलाई भेनेजुएलामा चतुर राजनीतिक खेलाडी र कडा आर्थिक समस्या समाधानकर्ताका रूपमा चिनिन्छ।

ह्युगो चाभेजको शासनकालमा भेनेजुएलाको मर्यादाक्रममा पछाडि रहेकी उनी २०१३ मा मादुरो सत्तामा आएपछि उचाइतर्फ लागेकी हुन्। यसमा उनलाई दाजु जोर्जको मद्दत थियो। मनोचिकित्सक जोर्ज राष्ट्रिय सभा नेतृत्व गर्छन्।

‘डेल्सी रोड्रिगेज एक बुद्धिमान र कुशल वार्ताकार हुन्,’ रोड्रिगेजसँग धेरै पटक व्यवहार गरेका एक पूर्व क्षेत्रीय नेताले भने।

रोड्रिगेज २०१४ मा परराष्ट्रमन्त्री भइन्। २०२० देखि अर्थ र ऊर्जामन्त्री थिइन्। उनले देशमा बिग्रँदो आर्थिक अवस्था लयमा ल्याउन  र घट्दो तेल उत्पादन फर्काउन सफल भएकी थिइन्। यसका लागि उनले अमेरिकी र अन्य अन्तर्राष्ट्रिय ऊर्जा कम्पनीहरूसँग सम्झौता गरेकी थिइन्। सन् २०१७ र २०१८ मा अमेरिका, क्यानडा र ईयूले लोकतन्त्र कमजोर पार्ने र कानुनी शासन दुरुपयोग गरेको आरोपमा उनलाई प्रतिबन्ध लगाएका थिए। सन् २०२० मा स्पेनको गोप्य भ्रमण गरेर उनले हंगामा मच्चाएकी थिइन्।

प्रकाशित: २२ पुष २०८२ १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast