काठमाडौँ- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको छ। सोमबार दिउँसोदेखि निषेधाज्ञा लगाइए पनि अवस्था सामान्य नबनेपछि स्थानीय प्रशासनले त्यहाँ साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म कर्फ्यु लगाएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्ज महानगरपालिका क्षेत्रका निश्चित क्षेत्रभित्र कर्फ्यु लगाइएको जानकारी दिएका छन्। उनका अनुसार पूर्व बाईपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर पावर हाउस चोक र दक्षिण शंकराचार्य गेट क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो।
कर्फ्युको बेलामा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्किनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा फोन गर्न प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको कर्फ्यु आदेशमा उल्लेख छ।
धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा भएको तोडफोडको घटनाको विरोधमा वीरगञ्ज आइतबारदेखि अशान्त बनेको छ।
घटनाको विरोधमा आइतबार वीरगञ्जमा मुस्लिम समुदायले विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए। मस्जिद तोडफोडमा संलग्नहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग उनीहरूले गरेका थिए।
मुस्लिम समुदायको प्रदर्शनपछि हिन्दु समुदायका युवाहरूले मोटरसाइकल जुलुस निकालेर सामाजिक सञ्जालमा हिन्दु धर्मप्रति आपत्तिजनक टिप्पणी गर्नेहरूलाई कारबाही गर्न उनीहरूले माग गरेका थिए।
सोमबार फेरि हिन्दु समुदायका युवाहरूले वीरगञ्जमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। त्यसपछि छपकैया क्षेत्रमा मुस्लिम समुदायका युवाहरू पनि नाराबाजीमा उत्रिएका थिए।
स्थिति तनावपूर्ण बन्दै गएपछि स्थानीय प्रशासनले वीरगञ्ज सहरी क्षेत्रमा दिउँसो निषेधाज्ञा आदेश जारी गरेको थियो। तर, निषेधाज्ञा अवज्ञा गरेर पनि प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो।
धनुषाको कमला नगरपालिका–६ बस्ने १९ वर्षीय हैदर अंसारी र अमानत अंसारीले सामाजिक सञ्जाल टिकटकमा विभिन्न किसिमका अपशब्द प्रयोग गरी समुदाय लक्षित गालीगलोेज गरेको भिडियो पोस्ट गरेका थिए।
यही विषयलाई लिएर पुस १९ गते मस्जिदमा तोडफोड हुनुका साथै त्यहाँ रहेका कागजपत्रका साथै कुरानसमेत जलाइएको थियो।
मस्जिदमा तोडफोड र कुरान जलाउनेलगायतका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २५ वर्षीय कपिल भन्ने रामप्रताप साहलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेशबहादुर बमका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरसमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी साहमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्। यो घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको उनले बताए।
त्यस्तै अपशब्द प्रयोग गरी समुदाय लक्षित गालीगलोज गरी टिकटकमा भिडियो पोस्ट गरेका हैदर र अमानतलाई समेत धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम धर्मसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




