काठमाडौँ- नियमित महाधिवेशन या विशेष महाधिवेशन भन्ने विषयमा नेपाली कांग्रेसभित्र तीव्र विवाद छ। कांग्रेसको संस्थापन एवं सभापति शेरबहादुर देउवा पक्षले आगामी वैशाख अन्तिममा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख २८ देखि ३१ सम्मको कार्यसूची पारित गरेको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने आगामी पुस मसान्तभित्रै ‘विशेष महाधिवेशन’ गर्न काठमाडौँको भृकुटीमण्डपमा हलसमेत बुकिङ गरिसकेका छन्।
कांग्रेसमा १५ औँ महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विवाद चर्किरहँदा नेकपा एमालेका नेताहरूले यसबारे सार्वजनिक प्रतिक्रिया दिन थालेका छन्। कांग्रेसमा महाधिवेशनको किचलोले पार्टी नै विभाजन हुन सक्ने चर्चा चलिरहँदा एमाले नेताहरू भने विभाजन हुन नहुने पक्षमा उभिएका छन्। कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी शक्ति हुन् र उनीहरूबीच सैद्धान्तिक आधार पनि मिल्दैन। आमनिर्वाचनमा पनि यी दुई दल नै मुख्य प्रतिस्पर्धी बन्छन्। अहिले कांग्रेसको आन्तरिक कलहले एमाले नेताहरूलाई समेत बेचैन बनाएको देखिन्छ।
एमाले उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले कांग्रेसले आन्तरिक समस्या सुझबुझका साथ समाधान गर्नुपर्ने सुझाव दिएका छन्। ‘लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि गम्भीर चुनौती उपस्थित भएको यथार्थ र यसको रक्षाका लागि आफ्नो काँधमा रहेको अभिभारा बोध गर्दै नेपाली कांग्रेसले आफ्ना आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नेछ,’ ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्। उनले विगतमा पार्टी विभाजन हुँदा भोग्नुपरेको नकारात्मक परिणामसमेत स्मरण गराएका छन्।
उनले थप लेखेका छन्, ‘२०५४ मा भएको नेकपा एमाले विभाजनले कसरी हिंसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी विस्तार गर्न सघायो र २०५९ मा भएको नेपाली कांग्रेसको विभाजनले प्रजातन्त्र अपहरणका लागि राजालाई कसरी बहाना दियो भन्ने यथार्थ हाम्रा सामु छ।’
२०५४ सालमा एमालेबाट वामदेव गौतमको समूह बाहिरिएर नेकपा माले बनेपछि माओवादी शक्ति मौलाएको तर्क ज्ञवालीको छ। त्यस्तै, २०५९ सालमा तत्कालीन नेता शेरबहादुर देउवाले कांग्रेस विभाजन गर्दा ज्ञानेन्द्र शाहको ‘हुकुमी शासन’ लादिएको उनले स्मरण गराएका छन्।
कांग्रेस विभाजन भएमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि गम्भीर चुनौती हुने ज्ञवालीको ठहर छ। विगतमा कांग्रेसलाई ‘दलाल र पुँजीपति’ को पार्टी भन्दै प्रहार गर्ने एमाले नेताहरू अहिले भने कांग्रेसको बचाउमा देखिनु रोचक छ।
एमालेका अर्का नेता शेरबहादुर तामाङले त कांग्रेस विभाजनका लागि केही तत्त्व लागेको आरोप लगाएका छन्। ‘जुन तत्त्वले देशलाई खरानी बनाउने उद्देश्य राखे, उनीहरूले नै एमालेमा भाँडभैलो गर्ने कोसिस गरेका थिए। एमालेमा दाल नगलेपछि अहिले त्यो समूह नेपाली कांग्रेसतिर सरेको देखिन्छ। देशको पुरानो र जिम्मेवार पार्टीका नाताले कांग्रेसका कार्यकर्ता सचेत हुन आवश्यक छ,’ तामाङले लेखेका छन्।
तामाङले जेनजी आन्दोलनमा आगजनी गर्नेहरू नै एमाले विभाजनमा लागेको दाबी गरेका छन्। यद्यपि तामाङको यो भनाइलाई लिएर एमालेकै केही नेताहरूले कटाक्ष गरेका छन्। उनलाई अरूको भन्दा आफ्नै पार्टीको चिन्ता लिन शुभचिन्तकहरूले सुझाव दिएका छन्।
एमाले नेता दयालबहादुर शाही विशेष अवस्थामा कांग्रेस-एमाले एकताबद्ध हुनुको विशेष अर्थ लाग्ने बताउँछन्। मुलुकमा कांग्रेस र एमाले समुन्नत लोकतान्त्रिक शक्ति भएकाले एकअर्काको आन्तरिक मामिलामा बोल्नु सामान्य रहेको उनको तर्क छ। ‘देशलाई विषम परिस्थितिमा धकेलेर युद्धभूमि बनाउने क्रियाकलाप भइरहेका छन्। यस्तो बेला लोकतन्त्रवादी शक्तिहरू एक हुन जरुरी छ,’ शाही भन्छन्।
शाहीका अनुसार देशमा कांग्रेस-एमालेको सरकार नभएको भए पछिल्लो समयका राजावादी आन्दोलनहरू झनै हिंस्रक हुने थिए। ‘पटकपटक यस्ता गतिविधि गर्न खोजिएको थियो। तर सर्वाधिक ठूला लोकतन्त्रवादी शक्ति सरकारमा हुँदा परिस्थिति सामान्य नै रह्यो,’ उनले थपे।
एमाले नेताहरू कांग्रेसको बचाउमा उभिँदा उनीहरू प्रतिस्पर्धी नभई एउटै मोर्चाका शक्ति जस्ता देखिन्छन्। चुनावी तथ्यांकले भने उनीहरूबीचको कडा प्रतिस्पर्धालाई नै पुष्टि गर्छ। २०७९ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो दल बन्दा एमाले ४८ सिटसहित दोस्रो भएको थियो। समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो भएका थिए।
२०८१ असारमा दुई दलले पालैपालो सरकार चलाउने गरी सातबुँदे सहमति गरेका थिए। ओली प्रधानमन्त्री भएकै बेला गत भदौमा भएको जेनजी विद्रोहले समीकरणमा केही हलचल ल्याए पनि अहिले दुवै दल एकअर्काको अस्तित्व रक्षाका लागि उभिएको देखिन्छ।
एमाले नेताले मात्र होइन, कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि ओलीजस्तो नडगमगाउने नेताको प्रशंसा गर्दै आएका छन्।
राजनीतिक विश्लेषकहरू भने यी दुई दलको निकटतालाई ‘जेनजी आन्दोलन’ पछिको अस्तित्वको संकट र नयाँ दलहरूको आक्रामक उदयसँग जोडेर हेर्छन्। विश्लेषक जागृत रायमाझी भन्छन्, ‘कांग्रेस र एमालेको सैद्धान्तिक धरातलमा अब खासै भिन्नता छैन। नयाँ आन्दोलन र नयाँ शक्तिको उदयपछि आफ्नो अस्तित्व जोगाउन उनीहरू अहिले सँगै उभिन बाध्य भएका हुन्।’




