१३२ केभीको कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण सकियो, माघ १६ गतेदेखि परीक्षण थालिने

हिमाल प्रेस १५ माघ २०८२ ७:०३ | Thursday, January 29, 2026
14
SHARES
१३२ केभीको कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण सकियो, माघ १६ गतेदेखि परीक्षण थालिने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य पूरा भएको छ। नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने जानकारी दिए।

त्यसका लागि बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत जिल्लाको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उनले बताए।

प्रवक्ता ढकालका अनुसार परीक्षणपश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ।

त्यस क्रममा प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युत्का संरचनालाई नछुन र बालबालिकालाई समेत टावर नछुन र नजिक जान नदिन आग्रह गरिएको उनले बताए।

परीक्षणका क्रममा कुनै ठाउँमा झिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिन आग्रह गरिएको प्रवक्ता ढकालले बताए। रासस

प्रकाशित: १५ माघ २०८२ ७:०३ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast