गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रियसभा सदस्य निर्वाचित

हिमाल प्रेस ११ माघ २०८२ १८:२२
गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रियसभा सदस्य निर्वाचित

पोखरा- राष्ट्रियसभा निर्वाचनअन्तर्गत गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र नेकपा (एमाले) की सम्झना देवकोटा निर्वाचित भएका छन्। तिमिल्सिना अन्य र देवकोटा महिला समूहबाट निर्वाचित हुन सफल भएका हुन्।

आइतबार भएको मतदान प्रक्रियामा तिमिल्सिनाले आफ्ना निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामालाई ४०९२ फरकिलो मतभारअन्तरले पराजित गरे।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी भएका तिमिल्सिनाले कुल खसेको मतभारमा ५०३३ प्राप्त गर्दा लामाको पक्षमा मात्र ९४१ मतभार छ। अर्का उम्मेदवार राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभार पाए। निर्वाचित हुन सफल तिमिल्सिनाले प्रदेशसभातर्फ ४८ मत र स्थानीय तहतर्फ १३१ मत प्राप्त गरेका हुन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका ७ का ५५ वर्षीय तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष समेत भइसकेका व्यक्ति हुन्।

यसै गरी महिला समूहमा निर्वाचित देवकोटाले ५०१४ मतभार प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार गोमा लुइँटेल घिमिरेले मात्र ९४१ मतभार प्राप्त गरिन्। जनमोर्चाकी लक्ष्मी बास्कोटाले मात्र ७६ मतभार पाइन्।

चुनाव जित्न सफल गोरखाकी देवकोटालाई प्रदेशसभातर्फ ४८ र स्थानीय तहतर्फ १३० मत परेको थियो। गोरखा नगरपालिका ३ निवासी देवकोटा यसअघिका विभिन्न तहका निर्वाचनमा पटकपटक हार व्यहोरेकी नेतृ हुन्।

२०८० को निर्वाचनमा समेत राष्ट्रियसभाकै सदस्यको उम्मेदवार उनी त्यसबेला कांग्रेस र माओवादीको गठबन्धनका कारण पराजित हुन पुगेकी थिइन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा गोरखा नगरपालिकाको उपमेयर र २०७९ मा मेयर पदमा पराजित भएकी थिइन्। पटकपटकको हारसँगै अब भने उनी एकैपटक राष्ट्रिय सभा सांसद चुनिन सफल भएकी हुन्।

गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ भने ८५ वटा पालिका छन्। तर एक जना प्रदेशसभा सदस्य दीपक मनाङे कारागारमा छन्। राप्रपाका सांसदहरु पन्चराम गुरुङ र विन्दु पौडेलले मतदान प्रक्रियामा भाग नलिँदा कुल ५७ सांसदले मात्र मतदान गरे।

उता पालिकातर्फ कुल १ सय ७० जना मतदाता (अध्यक्ष–उपाध्यक्ष) रहेकोमा कुल १६६ मतमात्र खस्यो। प्रगतिशील लोकतान्त्रिक पार्टीक (प्रलोपा) सांसद फणीन्द्र देवकोटाले कसैलाई पनि समर्थन नगरी मतपत्र खाली छोडेका थिए।

यसअघि गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित तत्कालीन नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले) नेतृ भगवती न्यौपानेको कार्यकाल सकिएको हो।

प्रकाशित: ११ माघ २०८२ १८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast