कांग्रेस विशेष महाधिवेशन : कसले के भने?

हिमाल प्रेस २७ पुष २०८२ १६:५३ | Sunday, January 11, 2026
18
SHARES
कांग्रेस विशेष महाधिवेशन : कसले के भने?

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ। उद्घाटन सत्रमा बोल्दै नेताहरूले पार्टी नेतृत्वप्रति प्रश्न उठाउँदै संगठनात्मक रूपान्तरण, स्पष्ट नीति र नयाँ नेतृत्वको माग प्रमुख रूपमा उठाएका छन्।

नेपाली जनसम्पर्क मञ्चकी पूर्वसभापति सीता सापकोटाले नेतृत्वले इतिहासबाट पाठ सिक्न नसकेको बताइन्। बेल्जियमबाट विशेष महाधिवेशनमा सहभागी सापकोटाले गुटबन्दी, घेराबन्दी र ‘किचन क्याबिनेट’ को राजनीतिले कांग्रेसलाई जर्जर बनाएको टिप्पणी गरिन्। उनले विशेष महाधिवेशनबाट नीति र नेतृत्वको स्पष्ट खाका कोर्नुपर्नेमा जोड दिइन्।

लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीलाई नयाँ गति दिन विशेष महाधिवेशन निर्णायक हुने बताए। उनले बन्द सत्रमा सबै पक्षको उपस्थितिमा आगामी कार्यदिशा, नीति र कार्यक्रमबारे गम्भीर छलफल हुनुपर्ने धारणा राखे।

कांग्रेस नेता सुनिल शर्माले सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै कार्यकर्ताको भावना बेवास्ता गरिएको बताए। उनले देशभरबाट आएका प्रतिनिधिहरूको ‘मासुम अनुहार’ ले नेतृत्वलाई नझक्झक्याएको हो कि भन्दै प्रश्न गरे।

वरिष्ठ नेता गोपालमान श्रेष्ठले नेतृत्वले हठ गरेर बस्न नहुने बताए। उनले विशेष महाधिवेशनका निर्णय कार्यान्वयन गर्दै विधि र विधानअनुसार अघि बढ्नुपर्ने र नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए।

बैतडी कांग्रेस सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिना कांग्रेस ‘कोमामा’ रहेको टिप्पणी गरे। उनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका अभियन्ताहरूले पार्टीलाई पुनर्जीवित गर्न साहस गरेको भन्दै सम्मान गर्नुपर्ने बताए।

कांग्रेस नेता देवराज चालिसेले पार्टीभित्र देखिएको बहसलाई झगडा नभई रूपान्तरणको प्रारम्भिक चरणको रूपमा व्याख्या गरे। बाहिर देखिने कलहले पार्टीलाई सुदृढ बनाउने प्रक्रिया अघि बढेको उनको भनाइ थियो।

कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले फराकिलो र गर्विलो कांग्रेस निर्माण गर्ने जिम्मेवारी महामन्त्रीद्वय गगन र विश्वप्रकाशको काँधमा आएको बताए।

कांग्रेस नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनमा नआउनेहरूलाई लक्षित गर्दै आफूहरूमाथि पथ्थर फ्याक्नेहरूलाई फूलले जवाफ दिने चेतावनी दिए। उनले कांग्रेसलाई यथास्थितिमा राख्न नसकिने भन्दै सभापति र कार्यवाहक सभापतिलाई विशेष महाधिवेशनलाई नजरअन्दाज नगर्न आग्रह गरे।

उद्योगपति तथा कांग्रेस नेता विनोद चौधरीले जेनजी आन्दोलनले पछिल्लो ३५ वर्षमा नेतृत्वले बाटो बिराएको तथ्यलाई सचेत गराएको बताए। उनले नयाँ पुस्तालाई राजनीतिमा अघि सार्नुपर्नेमा जोड दिँदै महामन्त्रीद्वयले पार्टीलाई नयाँ गति र दिशा दिनुपर्ने बताए।

प्रकाशित: २७ पुष २०८२ १६:५३ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast