काठमाडौँ- नेपाली कांग्रेसले पदाधिकारी वा कुनै सदस्यहरूले व्यक्तिगत रूपमा बोलाएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीपंक्तिलाई आह्वान गरेको छ।
व्यक्तिगत रूपमा बोलाइएका अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टी विधानविपरित रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन कांग्रेसले पार्टीका सबै तहका पदाधिकारी एवं सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई आह्वान गरेको हो।
पार्टीको विधानबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई रहेको कांग्रेसले प्रस्ट पारेको छ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरू जसरी पनि विशेष महाधिवेशन गर्ने तयारी गरेका बेला कांग्रेसले पार्टीपंक्तिलाई यस्तो आह्वान गरेको हो। थापा र शर्मासहित विशेष महाधिवेशन पक्षधरहरूले पुस २६ र २७ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने कार्यतालिका नै सार्वजनिक गरेको छ।
कांग्रेसले भने विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताएको छ।
मंसिर १५ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत् निर्णय गरी पार्टीको विधानबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढीसकेकोले विशेष महाधिवेशनको औचित्य सकिएको कांग्रेसले जनाएको छ।
‘नियमित १५ औँ महाधिवेशनको कार्यतालिकाबमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा ‘विधानबमोजिम समयमै नियमित १५ औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन’ गर्ने भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गते नै स्वतः समाप्त भएको पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्पष्ट गरिसकेको छ,’ कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
केन्द्रीय महाधिवेशन सम्पन्न गर्न सर्वप्रथम वडा अधिवेशन गर्नुपर्ने व्यवस्था रहेको र क्रियाशील सदस्य नै वडा अधिवेशनका प्रथम मतदाता हुने विज्ञप्तिमा उल्लेख छ।
नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरणसम्बन्धी कार्य सम्पन्न गरी निर्धारित कार्यतालिकाअनुसार क्रियाशील सदस्यताको सूची समयमै केन्द्रीय कार्यसमितिमा पेस गर्नुपर्नेमा हालसम्म पेस नभएको कांग्रेसले जनाएको छ।
केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयबाट कार्यतालिका तयारी गरी अधिवेशन÷महाधिवेशनको प्रक्रिया र कार्यक्रमहरू सञ्चालन भइरहेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई वेवास्ता गरी विशेष महाधिवेशनको आह्वान गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको पौडेलले जनाएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा उम्मेदवार प्रस्तुत गरिसकेको र राष्ट्रियसभा सदस्यको मनोनयनपत्रसमेत दर्ता भइसकेको जनाउँदै पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने अभियानमा सशक्त रूपमा लाग्न कांग्रेसले पार्टी पांक्तिलाई अनुरोध गरेको छ।



