माघ १६ गते जनकपुरमा कांग्रेसको सभा, गगन–विश्वले सम्बोधन गर्ने

हिमाल प्रेस १० माघ २०८२ १६:२९ | Saturday, January 24, 2026
26
SHARES
माघ १६ गते जनकपुरमा कांग्रेसको सभा, गगन–विश्वले सम्बोधन गर्ने फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरधाममा माघ १६ गते आमसभा गर्ने निर्णय गरेको छ।

कांग्रेस मधेश प्रदेश समितिको शनिबार बसेको बैठकले माघ १६ गते सहिद दिवसको अवसर पारेर जनकपुरधामको तिरहुतिया गाछीमा आमभसभा गर्ने निर्णय गरेको हो।

कांग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बैठकले नवनियुक्त सभापति गगन थापालाई शुभकामना दिँदै आमसभा गर्ने निर्णय गरेको जानकारी दिए।

आमसभालाई कांग्रेस सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आमसभा सम्पन्न गर्न बैठकले विभिन्न उपसमितिहरू गठन गरेको छ। धनुषा जिल्ला सभापति योगेन्द्र पंजियारलाई व्यवस्थापन समितिको जिम्मेवारी दिइएको छ। त्यस्तै अतिथि सत्कार, पार्किङ व्यवस्थापन, नयाँ उम्मेदवार परिचालन र प्रचार–प्रसार मिडिया डेस्क लगायतका उपसमितिहरू गठन गरिएको छ।

बैठकले आमसभामा मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रबाट नेताकार्यकर्ता र आमजनतालाई सहभागी गराउने निर्णयसमेत गराएको गुप्ताले जानकारी दिए।

फागुन २१ गते हुने निर्वाचनका लागि सर्लाही–४ बाट मनोनयन दर्ता गराएका कांग्रेस सभापति थापा आइतबार पहिलोपटक आफ्नो चुनाव क्षेत्र जान लागेका छन्।

वारेसनामामार्फत उम्मेदवारी दर्ता गरेका उनी अहिलेसम्म आफूले प्रतिस्पर्धा गर्न लागेको निर्वाचन क्षेत्रमा पुगेका छैनन्। आइतबार सर्लाही पुगेर चुनाव अभियान सुरू गर्ने उनको तयारी छ।

प्रकाशित: १० माघ २०८२ १६:२९ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast