सुदूरपश्चिमका ६ जिल्लाका कांग्रेस सभापतिले भने- विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो

हिमाल प्रेस २५ पुष २०८२ ५:४८
14
SHARES
सुदूरपश्चिमका ६ जिल्लाका कांग्रेस सभापतिले भने- विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया विधानअनुसार अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको सुदूरपश्चिमका ६ जिल्लाका कांग्रेस सभापतिहरूले बताएका छन्।

बिहीबार बझाङ, डोटी, डडेल्धुरा, अछाम, कञ्चनपुर र कैलाली जिल्लाका सभापतिहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्र विशेष महाधिवेशनको आह्वान गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत मंसिर १५ गते सम्पन्न बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा निर्णय गरिसकेको र सोही अनुसार प्रक्रिया अघि बढिरहेको उनीहरूको भनाइ छ। विधानबमोजिम निर्धारित समयमै महाधिवेशन गर्ने तयारी भइरहेका बेला माग गरिएको विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भइसकेको स्पष्ट पारिएको छ।

विज्ञप्तिमा पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समेत विशेष महाधिवेशनको आवश्यकता नरहेको स्पष्ट गरिसकेको उल्लेख छ। हाल महाधिवेशनको तयारीका क्रममा क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्य वितरण तथा प्रवेशीको काम वडा, पालिका, प्रदेश सभा क्षेत्र हुँदै प्रतिनिधि सभा क्षेत्रीय र जिल्ला कार्यसमितिमार्फत अघि बढिरहेको जनाइएको छ।

क्रियाशील सदस्यताकै आधारमा वडा अधिवेशनका मतदाता तय हुने र महाधिवेशन सम्पन्न गर्न वडा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अनिवार्य रहेको तथ्यलाई बेवास्ता गर्दै विशेष महाधिवेशन आह्वान गरिनु पार्टी विधानविपरीत भएको विज्ञप्तिमा उल्लेख छ।

‘विधानबमोजिम निर्धारीत समयमै १५औँ महाधिवेशन गर्ने कार्यतालिका अगाडि बढिरहेको सन्दर्भमा विशेष महाधिवेशन गर्न माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गते नै स्वतः समाप्त भएको २०८२ पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको वैठकले स्पष्ट गरि सकेको छ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीको विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र हुने भएकाले व्यक्तिगत रूपमा पदाधिकारी वा सदस्यले आह्वान गरेका गतिविधिमा संलग्न नहुन सबै तहका नेताकार्यकर्तालाई अपिल गरिएको छ।

साथै विज्ञप्तिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा एकताबद्ध भएर लाग्न पार्टीका सबै तहका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई आग्रह गरिएको छ।

संयुक्त विज्ञप्तिमा बझाङ सभापति खडकबहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, डडेल्धुरा सभापति भीम साउद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायण दत्त भट्टको हस्ताक्षर रहेको छ।

‘संस्थापन पक्षले मुठभेड निम्त्याउन खोज्यो’

प्रकाशित: २५ पुष २०८२ ५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast