काठमाडौँ- नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचन अभियान तीव्र बनाउने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनपछि पार्टीले लिएको संगठनात्मक संरचना, उम्मेदवार व्यवस्थापन र निर्वाचन अभियानका निर्णयहरू सार्वजनिक गर्दै अब निर्वाचन अभियान तीव्र बनाउने बताए।
प्रवक्ता चालिसेले देशभरका १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार कायम रहेको जानकारी दिए। विद्रोह गरेर उम्मेदवारी दिएका केहीले मनोनयन फिर्ता लिइसकेको र बाँकी रहेका थोरै स्थानमा पनि उम्मेदवारी स्थगन गरी पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन आह्वान गर्ने निर्णय भएको बताए।
विशेष महाधिवेशनपछि गठन भएको नयाँ केन्द्रीय कार्यसमितिले अत्यन्त सीमित समयमा उम्मेदवार चयन, प्रचारप्रसार तथा परिचालनका कामलाई व्यवस्थित रूपमा अघि बढाएको उनले बताए। प्रदेशदेखि जिल्ला, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र हुँदै स्थानीय तहसम्म प्रचारप्रसार तथा परिचालन समिति गठनको कार्य अन्तिम चरणमा पुगेको र दुई दिनभित्र सम्पन्न हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
कांग्रेसले निर्वाचन प्रचारका क्रममा निर्वाचन आयोगको आचारसंहिता पूर्ण रूपमा पालना गर्ने निर्णय गरेको जनाएको छ। प्रचारमा मर्यादा कायम गर्न पार्टीले आन्तरिक आचारसंहिता समेत लागु गरी मातहतका सबै निकायलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको प्रवक्ता चालिसेले बताए।
पत्रकार सम्मेलनमा प्रचारका दौरान पार्टीका नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकता दिइने, व्यक्तिगत जीवनमा प्रवेश नगर्ने र मानव स्वतन्त्रताको सम्मान गर्ने नीति अवलम्बन गर्ने निर्णय पनि सार्वजनिक गरियो। प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाउने नीति अपनाइएको जानकारी दिइयो।
त्यस्तै, पार्टीमा पुराना नेताकार्यकर्ताहरू पुनः जोडिन थालेको र नयाँ प्रवेशको क्रम बढेको जनाउँदै डोल्पाका अन्य दलका उम्मेदवार दिलबहादुर विष्ट र जुनु भण्डारीले उम्मेदवारी फिर्ता लिई कांग्रेसमा प्रवेश गरेको प्रवक्ता चालिसेको भनाइ छ।
सभापति गगनकुमार थापा सहित शीर्ष नेताहरू निर्वाचन क्षेत्रमै पुगेर मतदातासँग नियमित सम्पर्कमा रहने निर्णय भएको पनि प्रवक्ता चालिसेले बताए। सभापति थापा हाल सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा व्यस्त रहेको र फागुन ७ गते जनकपुरधाममा विशेष सभा आयोजना गर्ने निर्णय पनि सार्वजनिक गरिएको छ। केन्द्रीयस्तरका आमसभा अन्य क्षेत्रमा क्रमशः आयोजना गरिने उनले बताए।
यसैगरी केही समयपछि पार्टीको घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरिएको छ। घोषणापत्रमा सुशासन, विकास र भविष्यप्रति केन्द्रित यथार्थवादी तथा विश्वसनीय कार्यक्रम समावेश गरिने जनाइएको छ।
समसामयिक राजनीतिक, वैचारिक तथा नीतिगत विषयमा प्रत्येक दुई दिनमा ‘डबली संवाद’ कार्यक्रम सञ्चालन गर्ने तथा हरेक दुई दिन दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा नियमित पत्रकार संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। उक्त कार्यक्रमको संयोजन नेपाल प्रेस युनियनले गर्नेछ।
कांग्रेसले सबै नेताकार्यकर्तालाई एकताबद्ध भई चुनावी अभियानमा जुट्न र कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मतका साथ विजयी बनाउन आह्वान गरेको छ।



