कांग्रेस विवाद : निर्वाचन आयोगमाथि मुद्दा हाल्न पूर्णबहादुर खड्कालाई अख्तियारी

हिमाल प्रेस ३ माघ २०८२ १५:५६ | Saturday, January 17, 2026
40
SHARES
कांग्रेस विवाद : निर्वाचन आयोगमाथि मुद्दा हाल्न पूर्णबहादुर खड्कालाई अख्तियारी

काठमाडौँ- नेपाली कांग्रेसको विवादमा निर्वाचन आयोगले गरेको निर्णयविरूद्ध मुद्दा दायर गर्न देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अख्तियारी पाएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले आयोगको निर्णयविरू मुद्दा मामिला गर्न खड्कालाई अख्तियारी दिएको हो।

‘२०८२ माघ २ गते निर्वाचन आयोगले नेपालको संविधान, प्रचलित कानुन र नेपाली कांग्रेसको विधानको व्यवस्थाविरूद्ध गरेको निर्णयका विरूद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानुनी काम कार्यवाही गर्नका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गर्दछ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्णय सार्वजनिक गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बैठकले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरूद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो।

त्यस्तै बैठकले गगन थापा पक्षले बोलाएको विशेष महाधिवेशनलाई ‘भेला’ ठहर गरेको पौडेलले जनाएका छन्।

‘तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थिति, संख्यासमेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

पौडेलले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवित निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने मनसाय प्रस्ट देखिएको उल्लेख गरेका छन्।

‘यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्रको एक अंश हो,’ विज्ञप्तिमा भनिएको छ,‘निर्वाचन आयोगको दुरासयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णयविरूद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ।’

प्रकाशित: ३ माघ २०८२ १५:५६ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast