रौतहट- शीतलहरले जनजीवनसँगै शैक्षिक गतिविधिमा पनि गम्भीर असर पुर्याएको छ। चन्द्रपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थी कठ्याङ्ग्रिएर पठनपाठन गर्न बाध्य भएका छन्।
विद्यालयका धेरै विद्यार्थीसँग बाक्ला तथा न्यानो कपडाको अभाव हुँदा गाह्राे भएको र कक्षाकोठाका झ्यालहरूमा पल्ला नहुँदा चिसो हावा सहजै प्रवेश गर्दा विद्यार्थी र शिक्षक कठ्याङ्ग्रिएको विद्यालयको भनाइ छ।
प्रतिकूल अवस्थाबीच पनि शिक्षकले गत वर्षझैँ झ्यालमा बोरा राखेर चिसो हावा रोक्ने अस्थायी उपाय अपनाउँदै कक्षा सञ्चालनलाई निरन्तरता दिएका छन्।
‘विद्यार्थीसँग बाक्ला र न्यानो कपडा छैन। विद्यालयको भौतिक संरचना राम्रो छैन। कक्षाकोठाका झ्यालहरूमा पल्ला नहुँदा चिसो हावा सजिलै प्रवेश गर्दा पठनपाठन निकै कठिन भएको छ। शिक्षकले झ्यालमा बोरा राखेर चिसो हावा रोक्ने अस्थायी उपाय अपनाउनु भएको छ,’ विद्यालयको भनाइ छ।
विद्यालयका अनुसार मौसम क्रमशः सहज बन्दै गए पठनपाठन अझ सरल तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ।
प्रतिकूल परिस्थितिमा पनि निरन्तर प्रयासमार्फत शिक्षालाई अघि बढाइराख्नु नै विद्यालय परिवारको साझा उपलब्धि रहेको स्थानीयहरूको भनाइ छ।



