सन् २०१३ मा जनवादी गणतन्त्र चीनको राष्ट्रपतीय कार्यभार सम्हालेयता धेरै विश्लेषकहरूले सी चिनपिङलाई एक निष्कन्टक र सर्वशक्तिमान् नेताका रूपमा बुझ्दै आएका छन्। पछिल्लो एउटा घटनाले भने यो मूल्यांकनलाई चुनौती दिएको छ। वरिष्ठ जर्नेल झाङ युसियालगायत सैन्य नेतृत्वमा गरिएको शुद्धीकरणले ‘बेकामे’ र भ्रष्ट अधिकारी हटाउने नाममा भइरहेको शक्ति संघर्ष सतहमा ल्याएको हो।
पहिलो कुरा त, यसले सीको लामो समयदेखिको त्यो संशयलाई बेवास्ता गर्छ। यस सम्बन्धमा उनले सन् १९८९ को तियानमेन स्क्वायरको विद्यार्थी आन्दोलनदेखि हङकङको लोकतन्त्रवादी प्रदर्शन वा उइघुर अशान्तिसम्मका हरेक आन्तरिक उथलपुथलपछाडि अमेरिकी गुप्तचर संस्था सीआईएको कुत्सित हात रहेको दाबी गर्दै आएका छन्। यस पटक भने सी सशंकित हुनुका पछाडि ठोस कारण हुन सक्छ, किनभने पार्टीका नेताहरूले नै झाङलाई हटाउने सीको निर्णयमाथि प्रश्न उठाइरहेका छन्।
दोस्रो र अझ महत्त्वपूर्ण कुरा के छ भने यस्तो मूल्यांकनले चिनियाँ कम्युनिस्ट प्रणालीका दुई सबैभन्दा शक्तिशाली निकाय पार्टी र सेनाबीचको तनावलाई बेवास्ता गरेको छ।
वास्तविकताचाहिँ सन् १९४९ मा जनवादी गणतन्त्र चीन बनेयता हरेक नेताको सेनासँगको सम्बन्ध त्यति राम्रो रहेन, चाहे ती माओत्सेतुङ नै किन नहुन्।
आधुनिक चीनको इतिहासमा यस्ता धेरै घटना छन् जहाँ सेनाले नागरिक नेताको निर्णयमाथि प्रश्न उठाएको छ। सन् १९५८ मा कोरियाली युद्धका सेनापति पेङ देहुवाईले माओको ‘ग्रेट लिप फरवार्ड’ भनिने आर्थिक नीतिको आलोचना गरेका थिए।
उनले आफ्ना सिपाहीले लेखेका चिठीको हवाला दिँदै भोकमरीका कारण उनीहरूका परिवार मरिरहेको कुरा बताएका थिए। पार्टी नेतालाई यसरी खुलेआम चुनौती दिने आँट एक सैन्य अधिकारीले मात्र गर्न सक्थ्यो। तर सेनाको मान्छे भएर पनि उनी माओको रिसबाट बच्न सकेनन्। पेङलाई पदबाट हटाइयो र दण्डित गरियो।
अर्को एउटा महत्त्वपूर्ण घटना सन् २०११ को जनवरीमा भएको थियो। तत्कालीन अमेरिकी रक्षा सचिव रोबर्ट गेट्स बेइजिङ भ्रमणमा गएका बेला चिनियाँ सेनाले तत्कालीन राष्ट्रपति तथा पार्टी महासचिव हु जिन्ताओको अमेरिका-चीन सम्बन्ध सम्हाल्ने तरिकाप्रति आफ्नो असन्तुष्टि देखाएको थियो।
गेट्सका अनुसार उनी हु जिन्ताओलाई भेट्नुभन्दा केही घण्टाअघि मात्रै चिनियाँ सेनाले आफ्नो नयाँ जे-२० फाइटर जेट प्रदर्शन गर्यो। सेनाले आफ्नो शक्ति देखाउन जानाजानी यस्तो गरेको थियो।
गेट्सका एक सहयोगीले उनलाई भने, ‘यो त अहिलेसम्मकै सबैभन्दा ठूलो अपमान हो।’ राष्ट्रपति हु जिन्ताओ निकै लज्जित भए, किनभने त्यस कोठामा त्यो परीक्षणबारे थाहा पाउने एकमात्र व्यक्ति चिनियाँ सेनाका प्रतिनिधि थिए।
जर्नेल झाङले कहिल्यै सी चिनपिङको आज्ञा उल्लंघन गरेको प्रमाण छैन। न त यी दुई पुरुषबीच कुनै मतभेद भएको संकेत मिलेको छ। सीले नै झाङलाई केन्द्रीय सैन्य आयोगमा बढुवा गरेका थिए। त्यति मात्रै होइन, अहिलेसम्म सेना चलाउन उनैमाथि भरोसा गर्दै आएका थिए।
आखिर के भयो त? सम्भवतः सी चिनपिङ त्यतिबेला झस्किए, जब गत गर्मीयाममा जर्नेल झाङले केन्द्रीय सैन्य आयोगका ती दुई जर्नेलहरूलाई पदबाट हटाउन सफल भए। उनीहरूलाई सी आफैँले सेनाको उच्च तहमा नियुक्त गरेका थिए।
हे वेइडोङ र मिआओ हुआ ताइवान क्षेत्रका सैन्य कमान्डर थिए। उनीहरू कमान्डर रहँदा सी त्यही क्षेत्रमा पार्टी नेताका रूपमा कार्यरत थिए।
झाङले उनीहरूलाई किन पदबाट हटाउन खोजे वा के कारणले यस्तो भयो भन्ने कुरा हामीलाई कहिल्यै थाहा नहुन सक्छ। साथै त्यतिबेला सी चिनपिङले यसमा चुपचाप सहमति दिएका थिए कि थिएनन् भन्ने कुरा पनि स्पष्ट छैन।
केही जानकारहरूको अनुमान छ कि उनीहरू ताइवानको मामिलामा अझ बढी आक्रामक सैन्य कदम चाल्नुपर्छ भन्ने पक्षमा बहस गरिरहेका थिए।
केही चिनियाँ स्रोतहरूका अनुसार भियतनामसँगको सीमामा युद्ध लडेका अनुभवी पुराना सिपाही भएकाले पनि जर्नेल झाङलाई चिनियाँ सेना आफ्नो रणनीति बदल्नका लागि अझै तयार भइसकेको छैन भन्ने लागेको थियो।
ती युवा जर्नेलहरूसँग सैन्य आधुनिकीकरण र रणनीतिबारे अलि फरक खालका विचारहरू थिए भनेर अडकलबाजी गर्ने चिनियाँ अधिकारीहरू धेरै छन्।
एउटा कुरा प्रस्ट देखिन्छ- केन्द्रीय सैन्य आयोगबाट आफ्ना विरोधीहरूलाई हटाएपछि जर्नेल झाङको हातमा असीमित शक्ति आएको देखेर सी चिनपिङ चिन्तित बनेका छन्।
जर्नेल झाङमाथि लगाइएका आरोपमध्ये एउटा यो पनि छ- उनले अध्यक्षीय जिम्मेवारी प्रणालीको गम्भीर उल्लंघन गर्दै त्यसलाई क्षति पुर्याए। यो सीधै सी चिनपिङको चिनियाँ सेनाको सर्वोच्च कमान्डर इन चिफको पद र शक्तिलाई अपमान गरिएको भन्ने संकेत हो।
झाङको अर्को निशाना आफैँ पो बन्ने हो कि भन्ने चिन्ता सीलाई लागेको अनुमान गर्ने पनि धेरै छन्। झाङले उनलाई चौथो कार्यकालका लागि फेरि सत्तामा आउनबाट रोक्न पो खोज्ने हुन् कि भन्ने शङ्का उनलाई भएको हुन सक्छ।
पोलिटब्युरो सदस्य र सेनाको सर्वोच्च बर्दीधारी अधिकारी भएकाले झाङले आउँदो वर्षभित्र पोलिटब्युरोका अन्य सदस्य र अवकाशप्राप्त पुराना नेताहरूसँग मिलेर सी चिनपिङलाई सत्ताबाट हटाउने योजना बनाउन सक्ने सम्भावना थियो।
अझ डरलाग्दो कुरा त के हुन सक्छ भने सन् २०२७ सम्ममा ताइवान जलसन्धिमा युद्धका लागि सेना तयार पार्ने सी चिनपिङको योजनाप्रति झाङले असहमति वा विरोध जनाएका हुन सक्छन्।
सत्य जेसुकै भए पनि जर्नेल झाङको यो पतनले पार्टीका उच्च नेताहरूमा सी चिनपिङको निर्णय गर्ने क्षमता र नेतृत्वप्रति चिन्ता बढाउने जोखिम देखिन्छ।
उदाहरणका लागि पार्टीका नेताहरूले सी चिनपिङलाई आफ्नो उत्तराधिकारी तोक्न दबाब दिन सक्छन् जुन काम गर्न उनी अहिलेसम्म हिचकिचाइरहेका छन्। अथवा उनीहरूले सत्तामा साझेदारीको यस्तो व्यवस्था खोज्न सक्छन् जसले युवा नेताहरूलाई अगाडि आउने अवसर देओस्।
सन् २०१३ देखि सी चिनपिङले चीनमा दमनकारी शासन चलाउँदै आएका छन्। जर्नेल झाङलाई पदबाट हटाउनु उनको निरंकुशताको अतिवाद वा सीमा नाघ्ने काम हुन सक्छ।
एउटा कुरा भने निश्चित छ- झाङको वास्तविक अपराध भ्रष्टाचार वा असक्षम नेतृत्व थिएन। बरु, उनी सी चिनपिङले सहन नसक्ने गरी धेरै शक्तिशाली बनेका थिए। फाइनान्सियल टाइम्स



