कोशी नदीमा नहरमार्ग निर्माण परियोजना स्वीकृत

हिमाल प्रेस १ माघ २०८२ २१:२०
24
SHARES
कोशी नदीमा नहरमार्ग निर्माण परियोजना स्वीकृत फाइल तस्बिर

जनकपुरधाम- भारत सरकारको सहयोगमा कोशी नदीमा नहरमार्ग निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

भारत सरकारको पश्चिमी कोशी नरह परियोजनाअन्तर्गत बिहारको दरभंगा जोनमा पर्ने नेपालको कोशी नदीदेखि मधुबनी जिल्लाको साहरघाटसम्म नहरमार्ग परियोजनाले स्वीकृति पाएको हो।

कुल ३ हजार ४८४ करोड भारतीय रुपैयाँ लागतमा सञ्चालन हुने यो महत्वाकांक्षी परियोजनाअन्तर्गत दरभंगा जोनमा ठूलो स्तरको नहर विस्तार, मरम्मतसंभार तथा आधुनिकीकरण कार्य छिट्टै सुरू हुने पश्चिमी कोसी नहर प्रमण्डल बेनीपट्टीका इन्जिनियर मो.आयत करीमले भारतीय सञ्चार माध्यमहरूलाई बताएका छन्।

उनका अनुसार नेपालस्थित कोशी ब्यारेजदेखि साहरघाटसम्म मुख्य नहरको लाइनिङ तथा नहरसँगै पक्की सडक निर्माण गरिनेछ। यस परियोजनामा नेपालको सप्तरीस्थित कोशी नदीदेखि दरभंगा जोनअन्तर्गतका ११ डिभिजिन समेटिएका छन्।

परियोजनाअनुसार नेपालतर्फ करिब ३६ किलोमिटर र भारततर्फ ५६.७ किलोमिटर मुख्य कोशी नहर मार्ग निर्माणसहित २० किलोमिटर लामो साहरघाट शाखा नहरमा निर्माण तथा सुधार कार्य गरिनेछ। यस क्रममा पुल, भर्‍याङ, आउटले तथा अन्य आवश्यक संरचनाहरू निर्माण गर्ने योजना रहेको करीमले जानकारी दिएका छन्।

परियोजनामा भारतका बेनीपट्टी, केवटी, दरभंगा, सकरी, मधुबनी, राजगनर, खजौली, झंझारपुर, कुनौली, खुटौना, अन्धराठाडीलगायत पश्चिमी कोशी नहर प्रमण्डल, मधुबनीका क्षेत्रहरू समावेश गरिएको भारतीय सञ्चार माध्यम जागरमा उल्लेख छ।

सन् २०२५ मा परियोजनाको सम्झौता सम्पन्न भइसकेको र २०२८ सम्म काम पूरा गर्ने लक्ष्य राखिएको छ। यो परियोजनाले किसानहरूलाई भरपर्दो सिँचाइ सुविधान गराउने अपेक्षा गरिएको छ। परियोजनाको सफल कार्यान्वयनका लागि भारतीय पक्षले नेपाल सरकारसँग चाँडै छलफल गर्ने तयारी गरेको छ।

प्रकाशित: १ माघ २०८२ २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast