‘जायद सस्टेनेबिलिटी’ पुरस्कार बिल्ड अप नेपाललाई

हिमाल प्रेस २९ पुष २०८२ २१:१३ | Tuesday, January 13, 2026
20
SHARES
‘जायद सस्टेनेबिलिटी’ पुरस्कार बिल्ड अप नेपाललाई

काठमाडौँ- नेपाली संस्था ‘बिल्ड अप नेपाल’ले संयुक्त अरब इमिरेट्स (यूएई) को प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘२०२६ जायद सस्टेनेबिलिटी प्राइज’ प्राप्त गरेको छ। जलवायु परिवर्तनको असर न्यूनीकरणमा पुर्‍याएको योगदानका लागि संस्थालाई ‘क्लाइमेट एक्सन’ विधा अन्तर्गत यो पुरस्कार प्रदान गरिएको हो।

आबुधाबीमा आयोजित विशेष समारोहमा यूएईका राष्ट्रपति हिज हाइनेस शेख मोहम्मद बिन जायद अल नाह्यानले बिल्ड अप नेपालका प्रबन्ध निर्देशक बिजोर्न सोडरबर्गलाई सो अवार्ड हस्तान्तरण गरे।

बिल्ड अप नेपालले न्यून-कार्बन उत्सर्जन गर्ने र भूकम्प प्रतिरोधी ‘इको-ब्रिक्स’ उत्पादन गरी दिगो निर्माणका क्षेत्रमा नवीन कार्य गर्दै आएको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार संस्थाले हालसम्म ३३ लाख भन्दा बढी इको-ब्रिक्स उत्पादन गरिसकेको छ भने १२ हजारभन्दा धेरै सुरक्षित घर निर्माणमा सहयोग पुर्‍याएको छ। यस प्रविधिले करिब १ लाख १० हजार टन कार्बन उत्सर्जन कम गर्नुका साथै २ हजार व्यक्तिलाई ‘ग्रीन जब’ (हरित रोजगारी) समेत प्रदान गरेको दाबी गरिएको छ।

विशेष गरी जाजरकोट र रुकुम पश्चिम जस्ता भूकम्पको जोखिम रहेका क्षेत्रहरूमा न्यून लागतमा सुरक्षित घर निर्माण गर्न यो प्रविधि निकै प्रभावकारी देखिएको छ। सन् २००८ मा यूएईका संस्थापक शेख जायद बिन सुल्तान अल नाह्यानको स्मृतिमा स्थापित यो पुरस्कार स्वास्थ्य, खाद्य, ऊर्जा र शिक्षा जस्ता क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्थाहरूलाई प्रदान गरिन्छ।

समारोहमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको पनि उपस्थिति थियो। यो उपलब्धिले विश्वव्यापी जलवायु संरक्षण अभियानमा नेपालको बढ्दो सक्रियता र पहिचानलाई थप उचाइमा पुर्‍याएको दूतावासको भनाइ छ।

प्रकाशित: २९ पुष २०८२ २१:१३ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast