बुटवल- नेकपा एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाने गरी पार्टीबाट अलग भएका बासुदेव घिमिरेलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले रोकेका छन्। पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष पौडेलले बिहीबार रूपन्देही आएर घिमिरेसँग तिलोत्तमा नगरपालिका-शंकरनगरमा छलफलपछि राेक्न सफल भएका हुन्।
पौडेलले घिमिरेसँगको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै ‘हामी सँगै छौँ’ लेखेका छन्। पौडेलसहित एमाले नेता कार्यकर्ताबीच भएको छलफलपछि घिमिरेले तत्काल एमाले नछाडने गरी सहमति गरेका छन्। छलफलमा सहभागी एक नेताका अनुसार, ‘पार्टीबाट अलग भएको बताएका घिमिरेलाई पौडेलको पहलमा एमालेमै रहने निचोड निस्किएको हो।’
रुपन्देही क्षेत्र नम्बर ५ का निर्वाचित सांसद तथा तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरे एमाले छाड्न लागेपछि जिल्लाको राजनीतिमा तरंग आएको थियो। छलफलमा सहभागी नेताहरूले विष्णु पौडेलको पहलपछि घिमिरे एमालेमै सक्रिय रहने बताएका छन्।
घिमिरेले भने विभिन्न मिडियामा आफू एमाले छाडेर रास्वपातिर जान लागेकाे संकेत गरेका थिए। उनले पाैडेलसँगकाे छलफलपछिकाे प्रतिक्रिया भने जनाएका छैनन्। उनकाे माेबाइल अफ छ।



