काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले तीव्र तयारी गरेको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडाइका साथ मिलाइएको गृह मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन अनुकूल वातावरण निर्माणका लागि राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेकी छन्। प्रधानमन्त्री कार्कीले सबै दललाई लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने गरी जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै आएकी छन्।
देश निर्वाचन प्रक्रियामा होमिइसकेको भन्दै सरकारको मुख्य ध्यान अहिले निर्वाचनमै केन्द्रित रहेको छ। निर्वाचन आयोग, सुरक्षा निकाय र सम्बन्धित सरकारी संयन्त्रबीच आवश्यक समन्वयलाई थप सुदृढ बनाइएको जनाइएको छ।
निर्वाचनका लागि आवश्यक सामग्री व्यवस्थापनको काम पनि भइरहेको छ। जनक शिक्षा सामग्री लिमिटेड, भक्तपुरमा निर्वाचनका लागि नमुना मतपत्र छाप्ने कार्य भइरहेको छ। कर्मचारीहरू निर्धारित समयमै मतपत्र छपाइ सम्पन्न गर्न सक्रिय रूपमा जुटिरहेका छन्।
निर्वाचन आयोगले सबै तयारी समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई ढुक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।



सबै तस्बिर रासस



