कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

हिमाल प्रेस १७ माघ २०८२ १३:४४
8
SHARES
कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको भीषण दुर्घटनामा कम्तीमा २०० जना खानी मजदुरको ज्यान गएको छ । ‘मार्च–२३’ आन्दोलन (एम–२३) नामक विद्रोही समूहका एक प्रवक्ताले शुक्रबार उक्त घटनाको पुष्टि गरेका छन् ।

प्रवक्ताका अनुसार विभिन्न खानी सुरुङ अचानक भत्किँदा अधिकांश पीडितहरू खानीभित्रै माटोमा पुरिएका थिए । मृतकमध्ये महिला र बालबालिकासमेत रहेका छन्, जसले घटनाको गम्भीरता झन् बढाएको छ । दुर्घटनामा परेकाहरू अधिकांशजसो जीविकोपार्जनका लागि खानीमा काम गर्ने खानी मजदुरहरू रहेका थिए ।

बुधबार र बिहीबार रुबाया क्षेत्रका फरक–फरक कोल्टान खानीहरूमा एकपछि अर्को गर्दै सुरुङ भत्किने घटना भएको हो । रुबाया क्षेत्र सन् २०२४ को अप्रिल महिनादेखि एम–२३ विद्रोही समूहको नियन्त्रणमा रहेको बताइएको छ, जसका कारण उद्धार तथा राहत कार्यमा पनि कठिनाइ उत्पन्न भएको छ ।

संयुक्त राष्ट्रसंघको अनुमानअनुसार रुबाया क्षेत्रका खानीहरूले विश्वव्यापी टान्टालम आपूर्तिको करिब १५ प्रतिशत हिस्सा उत्पादन गर्दै आएका छन् ।

घटनापछि स्थानीय बासिन्दा र मानवअधिकार समूहहरूले खानी सुरक्षाको अवस्था, बालश्रम तथा अव्यवस्थित खानी उत्खननप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । हालसम्म पनि मृतकको यकिन पहिचान र विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । रासस/सिन्ह्वा

प्रकाशित: १७ माघ २०८२ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast