पोखरा- लमजुङ जिल्लामै सर्वाधिक पुरस्कार राशिको ३३औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि विभागीय एपीएफले जितेको छ। जिल्ला सदरमुकाम बेसीँसहरस्थित सहजी खेल मैदानमा सोमबार फाइनलमा लाङ्दीदेवी युवा क्लब, नाल्मालाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।
साविक विजेतासमेत रहेको एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे। खेलको ७७ औं मिनेटमा युवराजको गोलमार्फत एपीएफले सुरुवाती अग्रता लिएको थियो। त्यसको ६ मिनेटमै प्रदीपले अर्को गोल गर्दै जित पक्का गरेका हुन्।
उपाधिको यात्रामा एपीएफलाई त्यति धेरै संघर्ष गर्नु परेन। ७ वर्षपछि एपीएफमा फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ लगातार सफलता, अनुशासन र टिमवर्कको सानदार उदाहरण भएको बताउँछन्।
विजेताले उपाधिसहित १२ लाख नगद साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ। उपविजेताले ६ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक त्रिवेणी युवा क्लब अध्यक्ष टेकजंग गुरुङले बताए।
सर्वोत्कृष्ट खेलाडीको उपाधि एपीएफका सन्तोष खत्री घोषित भए। साथै, सर्वोत्कृष्ट गोलरक्षक पनि एपीएफकै एन्जल श्रेष्ठ घोषित भए। उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिता अवधिभर समान ३/३ गोल गरेका एपीएफका समीर थोकर र प्रदीप लामा सर्वाधिक गोलकर्ता घोषित भए। उनीहरूलाई नगद २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विजयीलाई पुरस्कार प्रदान गर्दै ३३ वर्षसम्म निरन्तर प्रतियोगिता सञ्चालन गर्नु चानचुने विषय नभएको बताए। यति धेरै दर्शक गण्डकी प्रदेशभित्र हुने कुनै पनि खेलमा आफूले नदेखेको मुख्यमन्त्री पाण्डेले बताए। उनले नगरपालिकालाई प्रदेश सरकारसग समन्वय गरी पूर्ण साइजको खेल मैदानमा परिणत गर्न निर्देशन दिए।
गण्डकी प्रदेशका वन तथा वातारण मन्त्री भोषबहादुर पौडेलले स्थापनाकालीन इतिहासको स्मरण गरेका थिए। क्लबका संस्थापक कोषाध्यक्ष उनी पूर्वअध्यक्ष समेत हुन्।
एपीएफले प्रतियोगिताको सुरुवाती चरणमै सुन्दरबजार फुटबल क्लबलाई ५–० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो। त्यस्तै, ठडाराई समाज र लमजुङ मर्स्याङ्दी फुटबल क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।



