मलाई भन्दा पहिले प्रचण्डलाई कारबाही हुनुपर्छ : हरिबोल गजुरेल [अन्तरवार्ता]

हिमाल प्रेस १२ माघ २०८२ ७:०१
18
SHARES
मलाई भन्दा पहिले प्रचण्डलाई कारबाही हुनुपर्छ : हरिबोल गजुरेल [अन्तरवार्ता]

प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नै नेताहरूलाई गरेको कारबाहीको विषय अहिले चर्चामा छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहयोद्धासहित सातजनालाई पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको र बागीको समर्थक/प्रस्तावक बनेको आरोपमा कारबाही गरेका छन्।

कारबाही गरेकामध्ये सबैभन्दा वरिष्ठ नेता हुन्, हरिबोल गजुरेल। तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेल प्रचण्ड प्रधानमन्त्री बन्दा प्रमुख राजनीतिक सल्लाहकार थिए। गजुरेललाई प्रचण्डले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका छन्। सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवार राजन दाहाल ‘लेखनाथ’ विरुद्धमा अर्का नेता महेश्वर दाहाललाई उम्मेदवारी दिन प्रस्तावक बनेको आरोप गजुरेलमाथि छ। यिनै विषयमा आधारित रहेर गजुरेलसँग गरिएको कुराकानी :

तपाईंसहितलाई प्रचण्डले कारबाही गर्नुभएको छ। के छ प्रतिक्रिया?

कारबाही गरेको कुरा आयो। कारबाही गर्नका लागि पहिले स्पष्टीकरण सोध्नुपर्छ कि पर्दैन? त्यसबारे प्रचण्डलाई जानकारी नभएको पाइयो। कारबाही गर्न त पहिले स्पष्टीकरण सोध्नुपर्छ नि।

तपाईंहरूका नाममा पत्र लेखिएको थियो। प्रचण्डबाट बोलावट भएको थियो। त्योचाहिँ के हो?

हो, शुक्रबार पत्र लेखिएको थियो तर त्यसमा त फिर्ता गर्न अनुरोध मात्र गरिएको थियो। त्यसमा कहाँ स्पष्टीकरण सोधिएको थियो त? अर्को कुरा, हामीलाई प्रचण्डले बोलाएकै हो। त्यहाँ हार्दिकतापूर्वक कुरा भयो। अरू केही भएन।

चुनावको समयमा विवाद गरिराख्नुभएको छ, गलत भएको अनुभव भएको छैन?

गलत भयो तर हामीले गर्दा होइन। प्रचण्डले गर्दा हो। यस्तो कारबाही पहिले प्रचण्डलाई गर्नुपर्ने हो। किनभने गल्ती प्रचण्डले गरेका हुन्। सिन्धुली–२ कै सन्दर्भमा भन्ने हो भने पनि राजनलाई टिकट नदिन अनुरोध गरियो। महेश्वरलाई टिकट दिन बारम्बार अनुरोध गर्दासमेत प्रचण्डले राजनलाई नै टिकट दिलाए। यो गलत गर्ने प्रचण्ड हो। पहिले प्रचण्डमाथि कारबाही हुनुपर्छ, अनि म भोग्न तयार छु।

चुनावमा यसको असर पर्दैन?

म नेकपाको कोशी प्रदेश इन्चार्ज हुँ। मैले त्यहाँ धेरै उम्मेदवारलाई टिकट वितरण गरेँ। अहिले मलाई कारबाही गर्दा कार्यकर्तामाथि अन्याय हुँदैन? इन्चार्जलाई नै कारबाही गर्दा कार्यकर्तामा कस्तो सन्देश जान्छ? यो कुरा बुझ्नुपर्ने हो नि प्रचण्डले। चुनावका बेला विवाद नगरौँ, महेश्वरलाई टिकट दिलाम्, सबै मिल्छ भनेकै हुँ।

अब कसरी अघि बढ्नुहुन्छ?

हामीले प्रचण्ड सुधार्न खोज्यौँ। बारम्बार यसो नगर्नुहोस् भनेर भन्यौँ। म त परिवारले साथ नदिँदादिँदै पनि प्रचण्डलाई भर दिएँ। तर प्रचण्ड सुध्रिन तयार भएनन्। प्रचण्डकै भलाइका लागि अनुरोध गर्दासमेत बुझेनन्।

अहिले तपाईंको काँध गलेको हो कि प्रचण्ड उस्तै छन् भन्न खोज्नुभएको हो?

होइन नि, सुधार्ने काम त गर्नुपर्‍यो। हामीले सुधार्ने काम गरेका हौँ। विगतबाटै प्रचण्डलाई यस्तो कामले अघि बढ्न सकिन्न भनेका थियौँ।

यसपटक पनि तपाईं आकांक्षी हुनुहुन्थ्यो? टिकट नपाएको कारण यस्तो भएको हो?

म अघिल्लो चुनावमा आकांक्षी थिइनँ। २०७९ मा पनि उम्मेदवार नबनेकै हुँ। म पटकपटक मन्त्री भएँ। प्रधानमन्त्रीको सल्लाहकार भएँ। यो लडाइँमा मेरो व्यक्तिगत स्वार्थ जोडिएको छैन। म त पार्टी बनोस् र प्रचण्ड सुध्रियून् भन्ने चाहन्छु।

उम्मेदवारका लागि तीन ठाउँबाट सिफारिस हुनुभएको थियो त?

हो, सिफारिस भएको हुँ। तर मलाई रहर थिएन।

पहिले पनि प्रचण्डलाई सहयोग गर्न भन्दै प्रधानमन्त्रीको सल्लाहकार खान जानु भएको होइन?

हो, मबाट पनि कमजोरी भए। अब मैले बुझेँ म गलत ठाउँमा रहेछु भन्ने कुरा। मैले त्यसबेला पनि सुध्रनुपर्छ भनेको हुँ। तर नभएपछि राजीनामा दिएर हिँडेको हुँ।

अब कसरी मिल्छ त विवाद?

अझै पनि समय छ। प्रचण्डले सिन्धुली २ को उम्मेदवारबाट राजन दाहाललाई फिर्ता बोलाउनुपर्छ र महेश्वर दाहाललाई आधिकारिक हो भनेर घोषणा गर्नुपर्छ। त्यति भएपछि मिल्छ।

तपाईँ त अब पार्टीमा हुनुहुन्न। कता जानुहुन्छ? विप्लवतिर?

होइन, होइन। पार्टीमा म नरहने भन्ने हुन्न। म कारबाहीमा पर्दा त प्रचण्ड पनि कारबाहीमा पर्नुपर्छ नि। गल्ती मैले मात्र गरेको होइन।

प्रकाशित: १२ माघ २०८२ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast