काठमाडौँ- नेपाली कांग्रेसभित्रको विवाद बढेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन राखिएपछि संस्थापन पक्ष तीब्र असन्तुष्ट छ। नेताहरू सामाजिक सन्जालमार्फत आआफ्ना अभिव्यक्ति र धारणा सार्वजनिक गरिरहेका छन्।
अहिले दुवै पक्षबीच वार्ता चलिरहेको छ। पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रयत्न भएको दुवै पक्षको दाबी छ। यतिकैमा इतर एवं गगन समूहका नेता मानिने महेश आचार्यले सभापति शेरबहादुर देउवालगायत पार्टीका शीर्ष नेतालाई विशेष महाधिवेशनमा आएर कार्यकर्ता भेट्न अनुरोध गरेका छन्।
हिजो मात्रै संस्थापन पक्षधर नेता एवं कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधान विपरीत जथाभावी नगर्न अपिल गरेका थिए। आचार्यले घरआँगनमै आइपुगेका कार्यकर्ताहरूलाई अपिल होइन, अंकमाल गर्न अनुरोध गरेका छन्।
यसै सन्दर्भमा नेता आचार्यले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत शीर्ष नेतृत्वप्रति असन्तुष्टि पोखेका हुन्। ‘आँगनमा उभिएको साथीलाई अपिल होइन, कृपया अंकमाल गर’, उनले लेखेका छन्, ‘अहिले गाउँगाउँ र नगरबाट सभापतिजी र नेताका घरआँगनमै महाधिवेशनका हजारौँ ऊर्जाशील साथीहरू विशेष महाधिवेशनका सन्दर्भमा उपस्थित हुनुहुन्छ। आफ्ना सभापति र नेतालाई अभिवादन गर्न, चुनावमा पार्टीको जितप्रति आश्वस्त हुँदै संगठनको ऊर्जा बोकेर घर फर्किने आशामा हुनुहुन्छ। तर हाम्रो पार्टीको नेतृत्व-पंक्ति आफ्ना साथीका माझ आउने, तिनका कुरा सुन्ने र प्रेरणाका दुई शब्द भन्न पनि नचाहने मानसिकतामा किन हुनुहुन्छ।’
प्रश्न गर्दै उनले अगाडि लेखेका छन्, ‘भोलि जहाज र मोटर चढेर जस्लाई सम्बोधन गर्न र उत्प्रेरित गर्न जानुपर्छ तिनै साथीहरू हजारौँको संख्यामा नेताका घरआँगनमै आएको बेला, लाखौँ मतदाताको, सञ्चार जगत् र बुद्धिजीवीको रुचि र ध्यान विशेष महाधिवेशनमा केन्द्रित भएको बेला पार्टीका साथीहरूको उपस्थिति र उत्साहलाई बेवास्ता गर्ने नेतृत्वको व्यवहार के चुनाव जित्ने रणनीति हो र? आफ्नै साथीको गुनासो र असहमति व्यवस्थापन गर्न नचाहने नेतृत्व र पार्टीले जनताको यति धेरै बढेको नैराश्य र गुनासो कसरी सम्बोधन गर्ला भन्ने चुनौतीपूर्ण प्रश्न के हामीप्रति तेर्सिंदैन होला?’




