सत्तरी वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सर्वेक्षण गरिँदै

हिमाल प्रेस १७ माघ २०८२ १९:१३ | Saturday, January 31, 2026
10
SHARES
सत्तरी वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सर्वेक्षण गरिँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने उद्देश्यले आइतबारदेखि सर्वेक्षण सुरु गर्ने भएको छ।

सत्तरी वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत कामपाले उनीहरूको स्वास्थ्य अवस्था सर्वेक्षणको काम सुरु गर्न लागेको हो।

कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको जानकारी दिइन्। सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीसँग छलफल गर्दै उनले अपेक्षित नतिजा संकलन प्रभावकारी रूपमा गर्न अनुरोध गरिन्।

कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘यो तपाईंहरूको पदीय जिम्मेवारीमात्र होइन। मानवीय सेवाका लागि गरिने काम पनि हो। त्यसैले जिम्मेवारी पूरा गर्न मात्र नभई कोही नभएका ज्येष्ठ नागरिकमा हाम्रा लागि पनि कोही छ भन्ने महसुस गराउन पनि मनदेखि दायित्व निर्वाह गर्नुहोला।’

उनले प्रभावकारी रूपमा तथ्यांक संकलनमा जोड दिइन्।

आर्थिक अवस्था कमजोर भएका, कोही नभएका, सम्पत्ति भए पनि सहयोग गर्ने परिवारका सदस्य कोही नभएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालिएको डङ्गोलले जानकारी दिइन्। उनका अनुसार शारीरिक अशक्तता भएका, दीर्घ रोगका कारण हिँड्डुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको नियमित जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत सेवा उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षणको प्रारम्भ भएको हो।

कामपाले सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीलाई पाँच दिनको अभिमुखीकरण तालिम दिनुका साथै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन र आवश्यक उपकरण प्रदान गरिसकेको छ। सेवासँगै मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन हुँदै आएको छ भने दीर्घरोग नियन्त्रण गर्ने प्रयास गरिँदै आइएको स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिए।

प्रकाशित: १७ माघ २०८२ १९:१३ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast