सुनसरी- सुनसरीको कोसी गाउँपालिकामा गोली प्रहारबाट एक जनाको हत्या भएको छ। गएराति करिब १ बजेतिर कोसी गाउँपालिका–१ लौकहीस्थित पुरी टोलमा गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घटनास्थल सशस्त्र प्रहरी बेस क्याम्प (बीओपी) लौकही नजिकै रहेको छ। प्रहरीका अनुसार घटनास्थलबाट दुई वटा गोलीका खोका फेला परेका छन्। गोली कसले चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
घटनापछि स्थानीयले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरेका छन्। अहिले पीडित पक्ष र प्रशासनबीच छलफल भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।



