कञ्चनपुरमा जंगली हात्तीको बथानले गरे घर र बालीमा क्षति

हिमाल प्रेस २० पुष २०८२ १८:०६
12
SHARES
कञ्चनपुरमा जंगली हात्तीको बथानले गरे घर र बालीमा क्षति फाइल तस्बिर।

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली हात्तीको बथानले आज (आइतबार) कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५, इमलियाका गाउँमा पसेर घर तथा अन्नबालीमा क्षति पुर्‍याएको छ। जंगली हात्तीले वस्तीमा प्रवेश गरी घरभित्र राखिएको अन्नपात तथा खेतबारीमा लगाइएको बालीमा क्षति पुर्‍याएको हो।

घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए। स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले हात्तीलाई धपाएर पुनः निकुञ्जतर्फ फर्काइएको उनले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक बोहराका अनुसार स्थानीय कमल गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने निजको करिब पाँच कठ्ठा जमिनमा लगाइएको उखु र पाँच कठ्ठा जमिनमा लगाइएको गहुँ तथा तोरीबालीमा समेत क्षति पुगेको छ। घर भत्किएपछि चार जनाको परिवार अहिले भाइको घरमा बसोबास गरिरहेका उनले बताए।

त्यस्तै सोही स्थानका नेपाली गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घरको एकतर्फको पर्खाल भत्काइ घरभित्र राखिएको चामल, धान, गहुँ र पिठो खाएर क्षति पुर्‍याएको छ। त्यसै गरी बिरजनी गिरीको काठ र माटोले बनेको एक कोठे कच्ची भान्सा घर भत्काई पूर्ण रूपमा नष्ट गरेको प्रहरीले जनाएको छ।

स्थानीयवासीले जंगली जनावरको बारम्बार हुने प्रवेशका कारण असुरक्षित महसुस भइरहेको गुनासो गरेका छन् भने सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गरेका छन्।

प्रकाशित: २० पुष २०८२ १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast