नक्कली नोट छाप्ने मेसिनसहित ६ जना पक्राउ

हिमाल प्रेस २१ पुष २०८२ १८:४९
16
SHARES
नक्कली नोट छाप्ने मेसिनसहित ६ जना पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँको गोकर्णेशवर नगरपालिकाबाट नक्कली नोट छाप्ने मेसिनसहित ६ जनालाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका–८ अत्तरलेखबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

नक्कली नोटको कारोबारमा संलग्न रहेको सूचनाको आधारमा प्रहरीले कलैया उपमहानगरपालिका–२ कबलपुर बस्ने २८ वर्षीय गौरीशंकर यादवलाई पक्राउ गरेको थियो। उनको साथबाट प्रहरीले नक्कली नोटसमेत बरामद गरेको थियो।

गौरीशंकरले दिएको बयानका आधारमा थप पाँच जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार नक्कली नोटको कारोबारमा संलग्न बाराको फेटा गाउँपालिका–३ घर भई भारतको मोतिहारी लाला टोलको पतौनामा डेरा गरेर बस्दै आएका २८ वर्षी रविकुमार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको थियो।

श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको र नक्कली नोट नेपालमै छाप्नका लागि आवश्यक सामग्री ल्याउने तयारी गरेका थिए। बारा प्रहरीको समन्वयमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले श्रीवास्तवलाई पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए

बीआर ०५ एएफ २५११ नम्बरको मोटसाइकल चढेर नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। श्रीवास्तव चढेको मोटरसाइकलको पछाडि सिटबाट नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर, प्रिटिङ मेसिन बरामद भएको प्रवक्ता भट्टराईले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले एक हजारको नक्कली नोट ९३ थान, पाँचवटा गड्डीमा भारतीय पाँच सय दरका ३१७ थान नोट, मोनिटर, कलर प्रिन्टर, सीपीयू, नक्कली पेस्तोल एक थान, लालीगुराँसको वाटरमार्क छापिएको १००० लेखिएको कागज १८० थान र सादा कागज ७५ थान बरामद गरेको छ।

पक्राउ परेका अन्य व्यक्तिहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन। जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ पुष २०८२ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast