कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी खटाइने

हिमाल प्रेस २७ पुष २०८२ १८:२२ | Sunday, January 11, 2026
10
SHARES
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी खटाइने फाइल तस्बिर।

गण्डकी- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा दुई हजार ३०३ जना निर्वाचन प्रहरी खटाइने भएको छ। निर्वाचन प्रहरी भर्नाका लागि आगामी माघ १ गतेभित्र दरखास्त माग गरिएको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जनाएको छ।

समितिका सदस्यसचिव एवं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निर्वाचन प्रहरीमा भर्नाका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गणमा दरखास्त बुझाउन सकिने बताए।

निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइने भएको छ।

अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न जान्ने व्यक्तिले निर्वाचन प्रहरीका लागि दरखास्त दिन पाउने सहायक प्रमुख अधिकारी बरालले जानकारी दिए। आगामी माघ ५ देखि १० गतेभित्र छनोट प्रक्रिया सकिने र १२ गते नतिजा प्रकाशन गरिने उनको भनाइ छ। आगामी माघ १५ देखि २४ गतेसम्म निर्वाचन प्रहरीलाई प्रशिक्षण दिइने भएको छ। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ।

निर्वाचन प्रहरीले ४० दिनको ३४ हजार ७७६, खाद्यान्न र पोसाक बापतको रकम, तयारी खर्च ८४६ र चार दिनको खाजा खर्च एक हजार २०० रूपैयाँ उपलब्ध गराइने छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्त गर्नेछ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन तयारी अगाडि बढाएको छ। कार्यालयले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा आगामी माघ १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक रूपमा सूचित गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गर्न कार्यालयले उक्त आग्रह गरेको हो। तोकिएको समयमा हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ। रासस

प्रकाशित: २७ पुष २०८२ १८:२२ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast