सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने

हिमाल प्रेस २८ पुष २०८२ २०:०९
14
SHARES
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने फाइल तस्बिर।

सुदूरपश्चिम- आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा २० हजार ७२७ नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने भएको छ।

निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गर्न लागिएको हो। परिचालन गरिनेमध्ये सात हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय, निर्वाचन सेलका प्रहरी निरीक्षक धर्म विष्टले निर्वाचन सुरक्षा योजनाअनुसार मतदानस्थलको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी खटिने र हरेक मतदान केन्द्रमा तीन प्रहरी सङ्ख्या बराबर पाँच जनाका दरले निर्वाचन प्रहरी परिचालित हुने बताए।

यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेना पनि आआफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेको कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए। प्रदेशका सबै ९ जिल्लामा ३०२ मतदानस्थललाई सामान्य, ३९५ मतदानस्थललाई संवेदनशील र ४८१ मतदानस्थललाई अतिसंवेदनशील निर्वाचनस्थल तोकेर सोहीअनुसारको सुरक्षा व्यवस्थापन मिलाउन लागिएको छ। निर्वाचनका लागि प्रदेशभर एक हजार १७८ मतदानस्थल र दुई हजार १८६ मतदान केन्द्र कायम गरिएको छ।

प्रदेशको कैलाली जिल्लामा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई, बझाङ, डोटी, बाजुरा, दार्चुला, बैतडी र  डडेलधुरामा एक/एक गरी १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्।

प्रकाशित: २८ पुष २०८२ २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast