चौधौँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव आजदेखि सुरु

हिमाल प्रेस २ माघ २०८२ १२:०७ | Friday, January 16, 2026
54
SHARES
चौधौँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव आजदेखि सुरु

काठमाडौँ- नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव को १४ औँ संस्करण आजदेखि सुरु हुने भएको छ। महोत्सव माघ २ देखि ५ गते चार दिनसम्म काठमाडौँमा सञ्चालन गरिनेछ।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा दिउँसाे १ बजे उद्घाटन हुँदैछ। महोत्सवमा नेपालसहित २० देशका ४३ वटा चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए।

उनले भने, ‘महोत्सवमा नेपाली समूहअन्तर्गत करिब चार दर्जनभन्दा बढी फिल्म, वृत्तचित्र र लघु फिल्ममध्येबाट २० वटा छनोट गरिएको छ। यसले हाम्रो फिल्मलाई विश्वभरका फिल्मकर्मीसँग परिचित गराउँछ।’

उनले महोत्सव विभिन्न देशका १० जना विदेशी फिल्मकर्मीको सहभागिता रहने र अन्तरक्रिया, नृत्य कार्यशाला, कला प्रदर्शनी र मास्टर क्लाससमेत सञ्चालन गरिने बताए। महोत्सवमा नेपाली फिल्मतर्फ मिलन चाम्स निर्देशित ‘अञ्जिला’, सरोज पौडेल निर्देशित ‘कोशेढुङ्गा’, ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’, दीपकप्रसाद आचार्य निर्देशित ‘परान’ र नर प्रधान निर्देशित ‘यो मन त मेरो नेपाली हो’ छनोट भएकाे छ।

वृत्तचित्रतर्फ भीमलाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ छनोट भएको छ।

नेपालबाहेक अफ्रिकी तथा अन्तर्राष्ट्रिय समूहमा कथानक फिल्मतर्फ बंगलादेशको ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोट डी आइभोरीको ‘साइलेन्स मोर्टेल’ प्रतिस्पर्धामा छ। वृत्तचित्रतर्फ युक्रेनको ‘द स्केड्युल अफ फाइटिङ टु लर्न’, एष्टोनियाको ‘अटिस्ट अफ सर्भाइभल’ र जर्मनीको ‘गल्स डोन्ट प्ले स्पोर्टस’ छनोट भएको छ।

अफ्रिकन फिल्मतर्फ इजिप्टको ‘द मङ्की’, ट्युनिसियाको ‘मेट्रो पोलिस’ र मोरक्कोको ‘द चेम्बर’ अन्तिम प्रतिस्पर्धामा छ। महोत्सवमा ‘सिनेमा, कल्चर एन्ड नेचर’ शीर्षकमा चार दिनसम्म चित्रकला प्रदर्शनी पनि हुने आयोजकले जनाएको छ।

महोत्सव कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन तथा विलक्षण क्रिएसन प्रा.लि.ले आयोजना गरेको हो।

प्रकाशित: २ माघ २०८२ १२:०७ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast