सुर्खेत– कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा हुनेमा अन्योल बढेको छ। प्रदेश खेलकुद विकास परिषद्मा पदाधिकारी नियुक्ति हुन नसक्दा र आन्तरिक तयारीमा ढिलाइ हुँदा प्रतियोगिताको भविष्य अनिश्चित बनेको हो।
यसअघि २०८१ मंसिर २ देखि ९ गतेसम्मका लागि तोकिएको प्रतियोगिता तयारी नपुगेको भन्दै चैत २३ देखि ३० गतेका लागि सारिएको थियो। पछिल्लो पटक केन्द्र सरकारले फागुन १ देखि ७ गतेसम्मको मिति तय गरे पनि व्यवस्थापकीय चुनौती कायमै रहँदा प्रतियोगिता अनिश्चित बनेको हो।
कर्णाली प्रदेशको गौरवको आयोजना मानिएको ‘प्रदेश रंगशाला’ को निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ। एक अर्ब ५९ करोडको लागतमा निर्माण भइरहेको यो रंगशाला सम्पन्न हुने अन्तिम चरणमा छ। कार्यतालिकाअनुसार कुल २४ मध्ये १६ विधाका खेल सुर्खेतमा र बाँकी ८ विधाका खेल कर्णालीका अन्य जिल्लामा आयोजना गरिनेछ।
प्रतियोगिता नजिकिँदै गर्दा कर्णालीले खेलाडीका लागि आधिकारिक बन्द प्रशिक्षण सुरु गर्न सकेको छैन। खेलाडीहरूले आफ्नै पहलमा जुडो, कराते, बक्सिङ, क्रिकेट र फुटबल जस्ता खेलहरूको अभ्यास गरिरहेका छन्।
प्रशिक्षक प्रदीप राईका अनुसार परिषद् गठनमा भएको ढिलाइले सचिवालय स्थापना र समन्वयमा समस्या परेको छ। अर्का प्रशिक्षक सोना थापाले राजनीतिक खिचातानीका कारण खेलको वातावरण उथलपुथल भएको र तयारी सुस्त हुँदा खेलाडी निराश बन्दै गएको बताइन्।
होटल व्यवसायी संघका अध्यक्ष पदमबहादुर शाहीले निजी क्षेत्र खेलाडीको आवास र खानाका लागि तयार रहे पनि सरकारले समन्वय गर्न नसकेको गुनासो गरे। प्रदेश र केन्द्र सरकारले एकअर्कालाई देखाएर जिम्मेवारी पन्छाउँदा अन्योल बढेको उनको तर्क छ।
खेलकुद विकासका लागि कर्णालीमा पर्याप्त पूर्वाधार बन्दै गए पनि बजेटको अभाव र निरन्तर अभ्यासको कमीले अघिल्लो नवौँ राष्ट्रिय खेलकुदमा कर्णाली पुछारमा परेको थियो। यसपटक ६ सयभन्दा बढी स्थानीय खेलाडी उतार्ने लक्ष्य राखिए पनि तयारीको अभाव खड्किएको छ।
प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले परिषद्का सदस्यसचिव नियुक्तिका लागि २१ जनाको आवेदन परेको र छनोट प्रक्रिया सुरु भइसकेको जानकारी दिए। उनले भने, ‘बजेट निकास भएपछि खेलकुदका गतिविधिले गति लिनेछन्। हामी २४ वटै विधाका खेल आयोजना गर्न र जिल्लाका खेलमैदानहरूको मर्मतसम्भार गर्न लागिपरेका छौँ।’




