कांग्रेसका १०६ जना नयाँ अनुहार चुनावी मैदानमा

हिमाल प्रेस १३ माघ २०८२ १७:०६ | Tuesday, January 27, 2026
8
SHARES
कांग्रेसका १०६ जना नयाँ अनुहार चुनावी मैदानमा

काठमाडौँ- नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको जनाएको छ। ती मध्ये १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारिएको पार्टी प्रवक्ता देवराज चालिसेले बताए।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए। ‘जहाँजहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ,’ उनले भने।

उनका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडास्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन निर्देशन दिइसकेको छ। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले पार्टीले आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको बताए।

‘पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउन आन्तरिक आचारसंहिता लागु गरिएको छ,’ उनले भने, ‘साथै राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेताकार्यकर्तालाई निर्देशन दिइसकिएको छ।’

कांग्रेसले यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि उनले जानकारी दिए। सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने उनको भनाइ छ।

प्रवक्ता चालिसेले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा सिर्जना गरेको दाबी गरे। ‘महाधिवेशनमा सहभागी नहुनेहरू समेत पार्टी गतिविधिमा जोडिन थालेका छन्,’ उनले भने, ‘अन्य दलका नेताकार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गर्ने क्रम जारी छ।’

प्रकाशित: १३ माघ २०८२ १७:०६ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast