काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले मुलुकमा देखा परिरहेका नयाँ उदयमान राजनीतिक शक्तिहरूमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रवृत्ति देखिएको टिप्पणी गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र (राप्रपा नेपाल) बीच बुधबार काठमाडौँमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले चर्का नारा र लोकप्रियताका आधारमा सत्ता हासिल गरी देशलाई संकटतर्फ धकेल्ने प्रवृत्तिबाट सचेत रहनुपर्ने बताए।
‘अहिलेसम्मका घटनाक्रम हेर्दा नयाँ शक्तिहरूमा जेलेन्स्की प्रवृत्ति देखिरहेको छु,’ उनले भने, ‘चर्काचर्का नारा दिएर लोकप्रियता कमाउने, त्यसकै आधारमा जनमत लिने र अन्ततः देशलाई बर्बाद पार्ने अवस्था देखिन्छ।’
थापाले युक्रेनी राष्ट्रपति जेलेन्स्की कला क्षेत्रबाट उदाएका हास्यकलाकार भएको बताउँदै उनी लोकप्रियताकै आधारमा राजनीतिमा आएको बताए। जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन रूससँग युद्धमा फसेको उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै प्रवृत्ति दोहोरिन नदिन सचेत रहन आग्रह गरे।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र कुलमान घिसिङ सच्चिनुपर्ने धारणा व्यक्त गरे। उनीहरू विचारविहीन रहेको टिप्पणी गर्दै थापाले भने,‘कुनै वैचारिक धरातल छैन, कुनै स्पष्ट एजेन्डा छैन।’
‘रवि, बालेन र कुलमानभन्दा ओली, देउवा र प्रचण्ड कम क्रान्तिकारी थिएनन्,’ थापाले भने, ‘तर अवधारणागत, संरचनागत र नीतिगत परिवर्तन नगर्दा उनीहरूलाई यो अवस्थामा आइपुग्न २० वर्ष लाग्यो। यही प्रवृत्ति दोहोरिए नयाँ शक्तिलाई पाँच वर्ष पनि लाग्दैन।’
थापाले जेनजी आन्दोलनको एजेन्डा अपहरण गरिएको आरोप पनि लगाए। जेनजी आन्दोलन एकाएक उत्पन्न नभएको जिकिर गर्दै उनले भने,‘हामीले तयार पारेको जनचेतना र जनजागरणको जगमा जेनजी आन्दोलन उभिएको हो। तर आन्दोलनले मुखरित गरेका एजेन्डा मध्यरातमै देशीविदेशी शक्तिले अपहरण गरे। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकलाई जोगाइयो।’
उनले राप्रपा र राप्रपा नेपालबीचको एकताको उद्देश्य दुईवटा रहेको बताए। ‘पहिलो उद्देश्य हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डाको रक्षा हो,’ उनले भने, ‘दोस्रो उद्देश्य भ्रष्ट शासन र व्यवस्थाबाट देश र जनतालाई मुक्ति दिलाउनु हो।’




