काठमाडौँ- ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर १२औँ विश्व माटो दिवस मनाइँदैछ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्यसअन्तर्गतका अन्य निकायले १२औँ विश्व माटो दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्।
मंसिर १४ गते माटोको उर्वरा शक्तिको दिगो व्यवस्थानका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धिमार्फत एकता एकताबद्ध प्रयासका लागि प्रत्येक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाउने गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए।
खाद्य तथा कृषि संगठन (एफएओ)को सिफारिसमा संयुक्त राष्ट्रसंघको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि विश्व माटो दिवस मनाउन थालिएको पनि उनले बताए। यसवर्ष स्वस्थ माटोका लागि स्वस्थ सहर भन्ने नाराका साथ विश्व माटो दिवस मनाउन लागिएको हो।
मंसिर १४ गतेदेखि दिवस मनाउन सुरु गरेको मन्त्रालयले (आज) शुक्रबार मूल कार्यक्रम गरी १२औँ विश्व माटो दिवस मनाउन लागिएको कृषि विभागका महानिर्देशक सञ्जेलले बताए। यसवर्ष कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, एफएओ, नेपाल माटो विज्ञान समाज र विभिन्न निकायको सहकार्यमा विश्व माटो दिवस मनाउने तयारी गरिएको छ।
नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवातसँगै विश्व माटो दिवस मनाउन थालिएको उनको भनाइ छ।



