ताप्लेजुङको हिमाली बस्ती याङ्मामा ब्वाँसोको आतंक, गोठमै छिरेर मार्न थाल्यो चौपाया

हिमाल प्रेस ७ पुष २०८२ ७:२८ | Monday, December 22, 2025
8
SHARES
ताप्लेजुङको हिमाली बस्ती याङ्मामा ब्वाँसोको आतंक, गोठमै छिरेर मार्न थाल्यो चौपाया

ताप्लेजुङ- ताप्लेजुङको हिमाली बस्ती याङ्माका पशुपालक किसानहरू जंगली जनावर ब्वाँसो (च्याङु) को आक्रमणबाट बर्सेनि पीडित बन्दै आएका छन्। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला अन्तर्गत पर्ने यस क्षेत्रमा ब्वाँसोले गोठमै छिरेर याक र चौरी मार्न थालेपछि किसानले लाखौँको क्षति बेहोर्नु परेको छ।

केही दिनअघि मात्रै स्थानीय लोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन वटा चौरी ब्वाँसोले मारेको छ। यसवर्ष हालसम्म नौ वटा चौरी मारिइसकेका छन् भने अघिल्लो वर्ष ३० भन्दा बढी चौपायाको क्षति भएको थियो। एउटा चौरीको मूल्य कम्तीमा ६० हजार रुपैयाँ पर्ने र तिब्बत निर्यात गर्दा झन् बढी मूल्य पाइने भए पनि ब्वाँसोको आतंकले किसानको आम्दानीको स्रोत नै संकटमा परेको छ।

९ घरधुरी मात्र रहेको याङ्माका बासिन्दाको मुख्य पेसा नै पशुपालन हो। विशेषगरी जाडोयाममा ब्वाँसोको हुल नै बस्ती आसपास आउने र चौपायामाथि जाइलाग्ने गरेको छ। बर्सेनि क्षति बेहोर्दा पनि राज्यले नियन्त्रण र राहतमा खासै चासो नदिएको स्थानीयको गुनासो छ। पाइने राहत पनि निकै न्यून भएको र वर्षाको समयमा यी जनावर हराउने तर जाडो सुरु भएसँगै फर्किएर दुःख दिने गरेको लोप्साङ शेर्पाले बताए।

वडाध्यक्ष छेतेन शेर्पाले सीमित बजेटका कारण स्थानीय तहबाट उचित राहत दिन नसकिएको स्वीकार गर्दै यसका लागि सङ्घ र प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने बताए। उनले हिउँ चितुवामा जस्तै यी ब्वाँसोमा पनि ‘ट्रयाकिङ उपकरण’ जडान गरी यिनीहरूको आचरण र आवागमनबारे अध्ययन गर्न आवश्यक रहेकोमा जोड दिएका छन्। रासस

प्रकाशित: ७ पुष २०८२ ७:२८ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast