वन्यजन्तु कूटनीति : कुन देशलाई कति उपहार?

हिमाल प्रेस २९ मंसिर २०८२ १७:०४
16
SHARES
वन्यजन्तु कूटनीति : कुन देशलाई कति उपहार?

काठमाडौँ- नेपालले कतारलाई उपहार दिने भनिएका दुई हात्ती पुस २ गते कतार जाँदैछन्। चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका हात्तीहरू खगेन्द्रप्रसाद र रुद्रकलीको सोमबार बिदाइ गरियो। उनीहरूलाई भैरहवा विमानस्थलमा कतार एयरवेजको चार्टर फ्लाइटबाट कतार पठाइनेछ।

हात्ती उपहार दिएको भने यो पहिलो पटक हो। यसअघि विभिन्न देशलाई गैँडा, घडियाल गोहीहरू भने उपहारका रूपमा दिने गरिएको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार हालसम्म २६ वटा एकसिंगे गैँडा विभिन्न देशलाई उपहारस्वरुप प्रदान गरिएको छ।

स्रोतः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

यसको सुरुवात भने सन् १९८५ बाट सुरु भएको हो। त्यतिबेला नेपालले भारतको दुदुवा राष्ट्रिय निकुञ्जमा पठाउने गरी भारतलाई चार वटा गैँडा दिएको थियो।

त्यस्तै अमेरिकालाई १९८७ मा चार र १९९० मा दुई गरी ६ वटा गैँडा उपहार दिएको छ। जर्मनीलाई दुई, सिंगापुरलाई दुई, बंगलादेशलाई दुई, यूकेलाई दुई, जापानलाई दुई, अस्ट्रियालाई दुई, चीनलाई चार वटा गैँडा उपहार दिइएको छ।

त्यस्तै जापानलाई एउटा ब्वाँसो र साउदी अरेबियालाई दुई वटा चितुवा उपहार दिइएको विभागले जनाएको छ। विभागका जर्मनी, फ्रान्स र भुटानलाई घडियाल गोही उपहार दिइएको छ। जर्मनीलाई दुई, फ्रान्सलाई ६ र भुटानलाई दुई वटा घडियाल गोही प्रदान गरिएको छ। जिउँदो वन्यजन्तुमात्रै होइन, वन्यजन्तुका आखेटोपहार पनि उपहार दिने गरिएको थियो। यद्यपि हाल यस्तो उपहार दिने गरिएको छैन।

स्रोतः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

तथ्यांकअनुसार १९८७ मा जापानका तत्कालीन युवराज नाररुहितो (अहिलेका राजा) लाई घडियाल गोहीको आखेटोपहार दिइएको थियो। सबैभन्दा धेरै साउदी अरेबियाका तत्कालीन युवराज खलिद विन सुल्तान विन अब्दुलाजिजलाई दिइएको पाइएको छ। सन् १९९८ मा युवराजलाई गौर, पाटेबाघ, जरायो, काठेभालु र खरमजुरको छाला, हड्डीलगायतका आखेटोपहार दिइएको विभागले जनाएको छ। सन् २००२ मा चितुवाको दुई थान छाला धार्मिक प्रयोजनका लागि भारतस्थित गंगोत्री धामको नागाबाबालाई दिइएको थियो।

नेपालले जापानलाई घडियाल र मगर गोहीका ६०-६० वटा अण्डा उपहार दिएको विभागले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०८२ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast