काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान हुने समय नजिक आउँदै छ। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ७० दिन बाँकी छ। कतिपय दलहरूले बाहिर संसद् पुनः स्थापनाको अडान लिए पनि आन्तरिक रूपमा चुनावको तयारीमा जुटिसकेका छन्। चुनावको विरोधमा देखिएको नेकपा एमालेसमेत निर्वाचन आयोगमा दर्ता भएर उम्मेदवारी चयनतर्फ लागेको छ। यद्यपि उसले संसद् पुनः स्थापनाको माग गर्दै सर्वोच्चमा रिटसमेत दायर गरेको छ।
नेपाली कांग्रेसले त केन्द्रीय समिति बैठकबाटै चुनावमा भाग लिने औपचारिक निर्णय गरिसकेको छ। पन्ध्रौँ महाधिवेशनको मिति तोक्न बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको थियो। चुनावमा भाग लिने निर्णय गरे पनि कांग्रेसकै बहुमत निवर्तमान सांसदहरूले प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्।
पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशनको घोषणा गरेको कांग्रेसलाई महाधिवेशनभन्दा बढी चुनावको चटारो देखिएको छ। निर्धारित मितिमा महाधिवेशन सम्भव नरहेको कांग्रेसकै नेताहरूले भन्न थालेका छन्। महाधिवेशन मिति घोषणा हुँदासमेत कांग्रेसका नेताहरू चुनाव केन्द्रित देखिएका छन्।
उसो त फागुन २१ गते चुनाव हुने नहुनेमा पनि राजनीतिक दलहरू सशंकित छन्। मुख्यतः कांग्रेस र एमालेका नेताहरू शान्तिसुरक्षाको कारण देखाउँदै चुनाव हुनेमा सशंकित देखिएका हुन्। जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीहरू अझै बाहिर रहेको र लुटिएका हतियारसमेत फिर्ता नभएको भन्दै चुनावको वातावरण बनाउनतर्फ गम्भीर नभएको आरोप यी दलहरूको छ।
चुनावका लागि दलहरू संशकित देखिए पनि आन्तरिक रूपमा उनीहरू तयारीमा जुटिसकेका छन्। राजनीतिक दलहरू प्रत्यक्षका साथै समानुपातिक प्रणालीका उम्मेदवार सिफारिस गर्ने प्रक्रियामा अगाडि बढिसकेका छन्।
उम्मेदवार सिफारिस गर्न संसद् पुनः स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको कांग्रेस पनि पछाडि छैन। देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट कांग्रेसका प्रत्यक्ष समानुपातिकतर्फका उम्मेदवारहरू धमाधम सिफारिस भइरहेका छन्।
फागुन २१ को निर्वाचनका लागि उम्मेदवारहरू सिफारिस भइरहेकै बेला बहालवाला पदाधिकारीसहित आफ्नो निर्वाचन क्षेत्रमा पकड भएका कांग्रेस नेताहरूले चुनाव नलड्ने घोषणा गरेका छन्। अहिलेसम्म कांग्रेसका तीन पदाधिकारीसहित सात नेताले चुनाव नलड्ने घोषणा गरिसकेका हुन्। कतिपयले पुसमै महाधिवेशन सम्पन्न गर्न ‘बार्गेनिङ’ स्वरूप चुनाव नलड्ने घोषणा गरेका छन् भने कतिपयले नयाँलाई मौका दिनुपर्छ भन्दै पछि हटेको बताएका छन्।
चुनाव नलड्ने घोषणा गर्नेहरूमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे, विघटित प्रतिनिधिसभाका सदस्य अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू राजेन्द्र केसी र मानबहादुर विश्वकर्मा तथा पूर्वमन्त्री एवं धादिङ सभापति रामनाथ अधिकारी छन्।
अन्य नेताहरूले नयाँलाई मौका दिनुपर्ने भन्दै चुनाव नलड्ने घोषणा गरे पनि महामन्त्री थापाले भने महाधिवेशन पुसमै गर्नुपर्ने सर्त अगाडि सारेका छन्। वर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव नलड्ने उनको सर्त छ। १५ औँ महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गरेमात्रै चुनाव लड्ने थापाले बताएका छन्।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेतृत्व नफेरिए फागुन २१ को चुनाव आफूले नलड्ने थापाले बताए। ‘प्रतिनिधिसभा चुनावअघि कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य छ, नेतृत्व परिवर्तन नगरी चुनावमा जान सम्भव छैन,’ महामन्त्री थापाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘नेतृत्व परिवर्तन नगरिकन चुनावमा जाने हो भने तपाईँहरू चुनावमा जानुहोस्, मचाहिँ चुनाव लड्दिनँ।’
महामन्त्री थापाले फागुन २१ को चुनावअघि १५ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिएका थिए। संस्थापननिकट अधिकांश नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा रहे पनि महामन्त्री थापाकै अडानका कारण कांग्रेसले पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने निर्णयमा पुग्यो।
दुई साताभन्दा पनि कम समय बाँकी छँदा पनि महाधिवेशनको तयारी अगाडि बढेको छैन। निर्धारित समयमा महाधिवेशन नहुने लगभग निश्चित भइसकेपछि महामन्त्री थापाले नेतृत्वमाथि दबाब सिर्जना गर्न चुनाव नलड्ने बताइरहेको कांग्रेसकै कतिपय नेताहरूको भनाइ छ।
‘जसरी पनि पुसमा महाधिवेशन गर्नुपर्ने अडान महामन्त्रीज्यूको थियो। त्यहीअनुसार मिति पनि तोकियो तर पुसमा महाधिवेशन सम्भव देखिएन,’ कांग्रेसका एक नेता भन्छन्, ‘नेतृत्वमाथि दबाब सिर्जना गर्न उहाँले चुनाव नलड्ने भन्नुभएको छ। यसअघि विशेष महाधिवेशन देखाउँदै उहाँले पुसमै महाधिवेशन मिति तोक्न लगाउनुभयो।’
निर्धारित समयभित्र नियमित महाधिवेशन हुने सम्भावना टर्दै गएपछि महामन्त्री थापा अब विशेष महाधिवेशनको गृहकार्यमा जुटेका छन्।
उनले विधान नमान्ने सुविधा कसैलाई नरहेको बताउँदै विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशनमा जानुपर्ने अवस्था आएको बताएका छन्। शुक्रबार विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन सुनिश्चित गर्न माग राख्दै बुझाएको ज्ञापनपत्र बुझ्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले महाधिवेशन पुस मसान्तभित्र अनिवार्य रूपमा गर्नुपर्ने कुरा अब कांग्रेसको केन्द्रीय कार्यसमितिको अनिवार्य जिम्मेवारी भएको समेत उल्लेख गरे।
२०६४ सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य चुनिएका थापा २०७० को दोस्रो संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–४ बाट निर्वाचित भएका थिए।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पनि उनको नाम विभिन्न निर्वाचन क्षेत्रबाट सिफारिस भएको थियो। उनी निर्वाचित हुँदै आएको काठमाडौँ–४ का साथै सर्लाही–४, तेह्रथुम, धनकुटा, रोल्पालगायतका ठाउँबाट थापाको नाम सिफारिस भएको छ।
थापाको जस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बिहीबार केन्द्रीय कार्यसम्पादन समितिकै बैठकमा फागुन २१ को चुनाव नलड्ने जानकारी गराए। चुनाव नलड्नका लागि भने उनले सहकर्मी थापा जस्तो कुनै सर्त भने अगाडि सारेका छैनन्। यद्यपि निर्धारित मितिमा निमयमित महाधिवेशन हुन नसके विशेष अधिवेशनतर्फ अगाडि बढ्नुपर्ने उनको पनि भनाइ छ।
विशेष महाधिवेशन पक्षधरहरूको स्मरणपत्र बुझ्ने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार चल्नुपर्ने बताए। उनले विधानमा भएको व्यवस्थालाई पालना गर्ने सबैको कर्तव्यअनुसार सबै चल्नुपर्ने भएकाले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट उपयुक्त निर्णय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–१ बाट सर्वसम्मत सिफारिस भएका शर्माले कार्यसम्पादन समिति बैठकमा चुनाव नलड्ने जानकारी गराए। आफू तीनपटक उम्मेदवार भइसकेकाले यसपालि चुनाव नलड्ने उनले बताएका थिए। अबको निर्वाचनमा नयाँलाई अवसर दिनुपर्ने उनको भनाइ छ।
२०७० सालबाट संसदीय राजनीतिमा होमिएका शर्मालाई लगातार दुईपटक हार बेहोर्नुपर्यो। २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी एमालेका रविन कोइरालासँग पराजित भए।
त्यस्तै २०७४ सालमा भएको आम निर्वाचनमा शर्मालाई तत्कालीन नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राम कार्कीसँग हारको सामना गर्नुपर्यो। त्योबेला माओवादी केन्द्र र नेकपा एमालेबीच गठबन्धन थियो।
दुईपटक लगातार पराजित भएकै क्षेत्रबाट शर्मा २०७९ सालको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। उनी नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भए। शर्मा कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका थिए।
कांग्रेसका अर्का पदाधिकारी सहमहामन्त्री बद्री पाण्डेले यसअघि नै फागुन २१ को चुनाव नलड्ने घोषणा गरिसकेका छन्। उनले मंसिर २६ गते नै आसन्न प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका हुन्।
उम्मेवार सिफारिस प्रक्रियाका क्रममा गृहजिल्ला बाजुरामा रहेकै बेला सहमहामन्त्री पाण्डेले अब हुने प्रतिनिधिसभा चुनाव नलड्ने जानकारी गराएका थिए। आफू मन्त्री भएकै बेला जेनजी प्रदर्शनका क्रममा दुःखद घटना भएकोले नैतिक जिम्मेवारी लिँदै चुनाव नलड्ने निष्कर्षमा पुगेको उनले बताएका थिए।
पाण्डेले २०७९ सालको आमनिर्वाचनमा एक दशकपछि बाजुरामा कांग्रेसलाई ‘कम ब्याक’ गराएका थिए। उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए।
त्यो निर्वाचनमा २०६४ पछि बाजुरामा पहिलोपटक कांग्रेस चुनाव जितेको थियो। तयसअघि २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट एमालेले बाजी मारेको थियो।
पाण्डे २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद भए भने २०७४ मा उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए।
पूर्वसहमहामन्त्री अर्जुननरसिंह केहीले फागुन २१ गतेको चुनावमा उम्मेदवार नहुने घोषणा गरेका छन्। ५ पुसमा गृहजिल्ला नुवाकोटबाटै उनले चुनाव लड्ने घोषणा गरे। केसीले नुवाकोटमा आयोजित एक कार्यक्रममा अब प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गरेका थिए। प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गरेपछि क्षेत्रीय समितिले उनको समानुपातिकतर्फ सिफारिस गरेको छ। उनी २०३४ सालदेखि निरन्तर चुनाव लड्दै आएका छन्।
त्यस्तै कुनै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पराजित गरेको कांग्रेस नेता राजेन्द्रकुमार केसीले पनि चुनाव नलड्ने घोषणा गरेका छन्।
काठमाडौँ क्षेत्र नम्बर १० मा लगातार तीनवटा चुनाव जितेका केसी फागुन २१ को चुनाव नलड्ने घोषणा गरेका हुन्। प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक वा राष्ट्रियसभामा चुनाव नलड्ने उनले बताए। पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भएकाले चुनाव नलड्ने निष्कर्षमा पुगेको उनको भनाइ छ।
केसी २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ को आम निर्वाचनमा काठमाडौँ १० बाट निर्वाचित भएका थिए। २०७० को चुनावमा उनले नेकपा संयोजक प्रचण्डलाई पराजित गरेका थिए।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका कांग्रेस नेता रामनाथ अधिकारीले पनि फागुन २१ को चुनाव नलड्ने घोषणा गरेका छन्। धादिङ कांग्रेसका सभापतिसमेत रहेका उनले आसन्न चुनाव नलड्ने घोषणा गरेका हुन्।
२४ मंसिरमा धादिङ निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमितिको बैठकमा उनले फागुन २१ को चुनावका लागि आफ्नो दाबी नरहने बताएका थिए। बैठकलाई सम्बोधन गर्दै उनले भनेका थिए,‘अनेक सन्दर्भ उठेका छन्। सन्दर्भलाई ध्यानमा राखेर यो उम्मेदवारीबाट बाहिरै रहने प्रण मैले गरेको छु।’
२०३६ सालको जनमतसंग्रह र २०४२ को सत्याग्रहमा युवा उमेरबाटै राजनीतिमा होमिएका अधिकारी २०५६ सालमा धादिङ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर लगातार दुईपटक विजयी भए।
त्यसपछि २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी) की उम्मेदवार कल्पना धमलासँग पराजित भए। २०७० को दोस्रो संविधानसभा चुनावमा पनि कांग्रेसले अधिकारीलाई नै उम्मेदवार बनायो। तर, उनी पराजित भए। २०७४ सालको निर्वाचनमा कांग्रेसले दिलमान पाख्रिनलाई उम्मेदवार बनायो। पाख्रिन वाम गठबन्धनको उम्मेदवारसँग पराजित भए।
२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले फेरि अधिकारलाई नै उम्मेदवार बनायो। उनी त्यो निर्वाचनमा जित हासिल गरेका थिए।
त्यस्तै कांग्रेस नेता मानबहादुर विश्वकर्माले पनि चुनाव नलड्ने घोषणा गरेका छन्। प्राध्यापकसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माले गृहजिल्ला अर्घाखाँचीमा तीन दिनअघि उम्मेदवार सिफारिस प्रक्रिया चलिरहेकै बेला लाभको कुनै पद नलिने भन्दै चुनाव नलड्ने घोषणा गरे।
उनले आगामी फागुन २१ गते संघीय निर्वाचनअन्तर्गत प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा कुनै पनि पदमा उम्मेदवार नबन्ने बताए। अब राजनीतिको अवसर युवा पुस्ताले लिनुपर्ने उनको भनाइ थियो।
दुई दशकभन्दा बढी समय केन्द्रीय राजनीतिमा सक्रिया विश्वकर्मा २०६३ सालमा वातावरण, विज्ञान तथा प्रविधि राज्यमन्त्री, २०६४ मा संविधानसभा उम्मेदवार, २०७० मा संविधानसभा सदस्य तथा २०७४ मा प्रतिनिधिसभा सदस्य बनेका थिए।





