पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिको सम्पूर्ण फोहर एकै झड्कामा हटाउन देशको हितका लागि पछिल्लो सम्झौता भएको बताएका छन्। बुधबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अबको दश वर्षमा कहाँ पुग्ने भन्ने पनि स्पष्ट ढंगमा सम्झौतामा उल्लेख गरिएको बताए।
आगामी २१ फागुनको प्रतिनिधिसभा सदस्य चुनावलक्षित गरी काठमाडौँ महानगरका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङसँग रास्वपाले एक दिनको फरकमा छुट्टाछुट्टै सात बुँदे सम्झौता गरेको थियो।
सोही सम्झौतालाई लिएर पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेले भने,‘राजनीतिको सम्पूर्ण फोहर एकै झड्कामा फाल्नका लागि हामीले देशको आवश्यकताअनुसार सम्झौता गर्नु परेको हो।’
‘लेनदेनको आधारमा सम्झौता हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले त्यसलाई सिधैँ नकारे। उनले भने,‘यो जिम्मेवारी बाँडेका हौं। भाग बाँडेको होइन। भागबन्डाको एउटा मात्र बुँदा छ। माथिका ६ वटा बुँदाहरू तपाईँहरूले पढिदिनुपर्यो नि। अबको दश वर्षमा हामी कहाँ पुग्छौं भन्ने कुरा छलफल गरेका भनेका हौं।’
उनले पुनः भने,‘राजनीतिकरूपमा हामीले एकएक जिम्मेवारी बाँडेका हौं,भाग बाँडेको होइन। राष्ट्रको आवश्यकता अनुसार जनताको चाहनाअनुसार भएको हो। जनताले त सेलिब्रेट गरेको छ। कही विरोध भएको देखिएन। केही दलले विरोध गरे होलान्। मुलुकलाई मध्यनजर राखेर, मुलकलाई सेन्टरमा राखेर गरिएको सम्झौता हो।’
उनले आफूमाथि मुद्दा नभएको भए पनि गर्नुपर्ने यही नै रहेको बताए। युवामा राजनीतिक चेतना ल्याउनका लागि काठमाडौँका मेयर बालेन शाहले नयाँ परिवर्तनको झिल्को ल्याएको व्यक्ति भएको भन्दै उच्च प्रशंसा गरे।
लामिछानेले भने,‘नयाँ परिवर्तनको झिल्को ल्याएको मान्छेको रुपमा, युवाले आन्दोलन गरेको र युवाले बढी रुचाएको व्यक्तिका रुपमा प्रधानमन्त्रीको दाबेदार नै बालेन शाह हो।’
साथसाथै नयाँ राजनीतिक शक्तिको रूपमा आफूहरू उदाएकाले यो एकता बलियो र परिणाममुखी बनाउनुपर्नेमा आफूहरू सचेत रहेको पनि बताए।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको विषयमा लामिछानेले अबदेखि प्रश्नउत्तरको मनोरञ्जन लिनेबाट बाहिर निस्कन चाहेको बताए। उनले भने, ‘उहाँ (ओली) ले जे भन्नुभएको छ, उहाँको कुरा हो। मनोरञ्जन लिने त्यो प्रक्रियाबाट अब माथि उठ्नुपर्छ भन्ने हो।’
ओलीले रास्वपा, उज्यालो नेपाल र मेयर बालेनबीचको एकतालाई लिएर मंगलबारमात्रै कुखुरा, बाख्रा र स्यालले मोर्चाबन्दी गरेर केही नहुने टिप्पणी गरेका थिए। साथै, लामिछानेले ओलीको बोलेको कुराको जवाफ सर्वसाधारणले भोलि भोट हाल्नेले दिने बताए।
उनले समानुपातिक सूचीमा विभिन्न कारण हुन गएको त्रुटि सच्च्चाइने आश्वासन दिए। उनले भने,‘विभिन्न क्षेत्रमा प्रमाणित गरिसकेका साथीहरू छन्, कतिपय समय अभाव पनि भयो। कतिपय प्राविधिक कुरा पनि छन्,केही समस्या छन्,नियतमा समस्या हुँदैन। निर्णयहरू कहिलेकाहीँ तलमाथि भए पनि सच्च्याएर जान सकिन्छ। साथीहरूले बुझदिनुहोला।’
सहकारी ठगीसम्बन्धी कास्की जिल्ला अदालत र उच्च अदालत पोखरामा चलेको मुद्दामा तारेखका लागि आएका लामिछानेले जहाँतहीँ मुद्दा हाल्ने र व्यक्तिलाई दुःख दिने काम लोकतान्त्रिक चरित्र नभएको टिप्पणी पनि गरे। अघिल्लो सरकारले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर दुःख दिएको बताए।
उनले हाल राज्यका विभिन्न निकायमा पार्टीको भर्ती केन्द्र बनाइएको र सुशासनको पक्ष कमजोर हुँदै गएकाले सुधारको आवश्यकता रहेको पनि बताए।
उनले आफ्नो पार्टीको सामथ्र्य पुगेपछि पहिलो प्राथमिकता नै अहिलेकै संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाभित्र रहेर सुशासन कायम गर्ने प्रतिबद्धता जनाए।



