निर्वाचन गर्न सुरक्षा योजना बनाइसक्यौं : गृहमन्त्री

हिमाल प्रेस २९ मंसिर २०८२ ११:३५ | Monday, December 15, 2025
22
SHARES
निर्वाचन गर्न सुरक्षा योजना बनाइसक्यौं : गृहमन्त्री गृहमन्त्री ओमप्रकाश अर्याल। फाइल तस्बिर।

पोखरा- गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन सरकार दृढ रहेको बताएका छन्।

पोखरामा आज आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा योजना निर्माणसँगै व्यवस्थापकीय तयारीमा सरकार जुटेको बताए।

‘वर्तमान सरकार निर्वाचन गराउनकै लागि गठन भएको हो, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु अहिलेको सरकारको प्रमुख जिम्मेवारी हो’,उनले भने,‘निर्वाचनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ, फागुन २१ मै निर्वाचन सम्पन्न हुन्छ।’

निर्वाचनका लागि विश्वासको वातावरण सृजना गर्न सरकारका तर्फबाट राजनीतिक दलसहित सरोकार भएका पक्षहरूसँग वार्ता र संवाद भइरहेको गृहमन्त्री अर्यालले बताए।

निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागु गरिएको र प्रदेश तथा जिल्लास्तरमा सुरक्षा अवस्थाको विश्लेषण गरी निर्वाचन सुरक्षा रणनीति तय गरिने उनको भनाइ छ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ७० प्रतिशतलाई कारागार फर्काइएको र लुटिएका हतियार पनि फिर्ता हुने क्रम जारी रहेको गृहमन्त्री अर्यालले बताए।

‘जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको अवस्थालाई सामान्य बनाउन र मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउने कुरामा सरकार गम्भीर ढंगले लागिपरेको छ’,उनले भने।

गृहमन्त्री अर्यालले निर्वाचन सम्पन्न गराउन प्रदेश सरकारको महत्त्वपूर्ण भूमिका रहने बताए। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चपदस्थ अधिकारीसहित गण्डकीका ११ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहभागी छन्।

गोष्ठीमा गण्डकी प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गरी भावी सुरक्षा सुरक्षा रणनीति र कार्यदिशा तय गरिने गृह मन्त्रालयका सहसचिव गोविन्द रिजालले बताए। गोष्ठीमा निर्वाचन सुरक्षा योजनाका बारेमा पनि छलफल हुने उनको भनाइ छ।

प्रकाशित: २९ मंसिर २०८२ ११:३५ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast