पार्टी अध्यक्ष ‘बूढो पुरुष’ हुने प्रथा तोडिदियौँ : ओजस्वी भट्टराई  [भिडियो अन्तरवार्ता]

हिमाल प्रेस २ पुष २०८२ १७:३१
60
SHARES
पार्टी अध्यक्ष ‘बूढो पुरुष’ हुने प्रथा तोडिदियौँ : ओजस्वी भट्टराई  [भिडियो अन्तरवार्ता]

काठमाडौँ- जेनजी पुस्ताबाट पहिलोपटक राजनीतिक पार्टीको नेतृत्व तहमा पुगेकी ओजस्वी भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद् सदस्य हुन्। कानुनी पृष्ठभूमि रहेका बुबाआमाको प्रभावले कानुन अध्ययन रोजेकी भट्टराई संविधानिक तथा फौजदारी कानुनमा स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट भएकी छन्। २८औँ बार काउन्सिल परीक्षामा पनि उनले उत्कृष्ट नतिजा हासिल गरेकी थिइन्।

पुर्ख्यौली घर अर्घाखाँची भए पनि काठमाडौँमै जन्मेकी र हुर्केकी भट्टराई विगत चार वर्षदेखि नेपाल ल क्याम्पसमा अध्यापन गरिरहेकी छन्। उनी ल फर्ममा समेत कार्यरत रहँदै अन्तर्राष्ट्रिय कानुन र सीमान्तकृत समुदायको अधिकारसम्बन्धी अध्ययनअनुसन्धानमा संलग्न छिन्।

हिमालप्रेससँगको संवादमा भट्टराईले उमेर फरक भए पनि प्रलाेपा नेतृत्वमा जेनेरेसन ग्याप महसुस नभएको बताइन्। अध्यक्ष पद भनेपछि समाजले अझै पनि ‘बुढो पुरुष’ कल्पना गर्ने प्रवृत्ति रहेको बताउँदै त्यसैलकारण आफू नेतृत्वमा आउँदा असहज ठानिएको हुन सक्ने उनको भनाइ छ। युवाप्रति राजनीतिक दलहरूले वितृष्णा जगाएकै कारण जेनजी विद्रोह भएको उनको विश्लेषण छ।

‘उमेर समुह फरक भए पनि प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्मा जेनेरेशन ग्याप भएजस्तो लाग्दैन। कुनै पार्टीको अध्यक्ष भनेपछि आँखा चिम्लेर सोच्दा ‘बुढो पुरुष’ कल्पना गर्छौं। त्यो कल्पनामा म अध्यक्ष पदमा आइपुग्दा तालमेल नमिलेकोजस्तो धेरैलाई लागेको हुनसक्छ,’ उनले भनिन्।

उनले राजनीतिक दलमा पुस्तान्तरण अनिवार्य रहेको बताउँदै युवालाई नेतृत्वमा पुर्‍याउन क्रान्तिजन्य परिस्थिति आवश्यक पर्ने धारणा राखिन्। ‘जेनजी विद्रोह भयो, युवाको आवाज सुन्नुपर्ने दबाब सिर्जना भयो, म पार्टी नेतृत्वमा हुनु त्यसैको उपज हो,’ उनले भनिन्। लामो समय सामाजिक अभियानमा सक्रिय रहँदा नीतिमा परिवर्तन गर्न राजनीतिक इच्छाशक्ति अपरिहार्य रहेको महसुस गरेको उनको अनुभव छ।

विश्वका धेरै देशमा कम उमेरमै युवा नेतृत्व तहमा पुगे पनि नेपालमा अझै संकुचित सोच रहेको भन्दै भट्टराईले पुराना नेताहरूको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिइन्। प्रलोपामा पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरू सल्लाहकारको भूमिकामा रही निर्णय युवालाई सुम्पिएको उदाहरण दिँदै उनले अन्य दलका शीर्ष नेताहरूबाट पनि यस्तै अपेक्षा व्यक्त गरिन्।

जेनजी आन्दोलन कुनै व्यक्ति वा समूहको आयोजनामा नभई देशको भ्रष्टाचार र संकटबाट निकास खोज्ने साझा आवाज भएको उनको भनाइ छ। सुशासन, भ्रष्टाचार र सामाजिक बहिष्करण अन्त्यका लागि उठ्ने आह्वानले जेनजीको आत्मा बोकेको महसुस हुने बताउँदै उनले १३ देखि २८ वर्ष उमेर समूहलाई एउटै विचारमा बाँध्न खोज्नु न्यायसंगत नहुने प्रश्न उठाइन्।

संविधानको सीमाभित्र मात्र रहेर क्रान्ति सम्भव नहुने तर्क गर्दै उनले संसद् भवन जलाइनु जनप्रतिनिधिप्रतिको अविश्वासको प्रतीक भएको व्याख्या गरिन्। ‘संविधानभित्रै समस्याको समाधान हुने भएको भए क्रान्तिको आवश्यकता पनि पर्दैन। गत भदौ २३ र २४ गतेको मुलुकको अवस्था हेरेर पनि संविधानको व्याख्या विश्लेषण गर्नुपर्छ। हाम्रो संसद् भवन जल्नु भनेको त्यो भवनसँग रिस उठेर जलाएको त होइन होला। संसद् भवन के को प्रतीक हो? त्यही बुझेर जलाइएको होला। संसद् भवन जल्नु भनेको हामीलाई हाम्रा जनप्रतिनिधिहरुसँग विश्वास छैन भन्ने हो। संवैधानिक कानुन साँच्चिकै बुझेको मानिसले चाहिँ संसद् पुर्स्थापनाको वकालत गर्दैन,’ भट्टराईको भनाइ छ।

साथै नेपालको सबैभन्दा ठूलो समस्या निजामती क्षेत्रमा रहेको अपारदर्शिता भएको उल्लेख गर्दै त्यसको पुनर्संरचनाका लागि उच्चस्तरीय आयोग आवश्यक रहेको बताइन्। ‘हाम्रो सबैभन्दा ठूलो समस्या,अपारदर्शीता निजामती क्षेत्रमा हो। त्यसको पुनर्संरचना नगर्ने हो भने जतिसुकै नयाँ परिवर्तन गरे पनि केही हुँदैन। निजामती क्षेत्रमा सबैजना नराम्रा मानिस छन् भन्ने पनि होइन। निजामती क्षेत्रबाट रिटायर्ड हुनुभएकाहरूले पनि यो क्षेत्रको इज्जत जोगाउन पुनर्संरचना गर्नैपर्छ भन्हुनुछ्,’उनले भनिन्,‘निजामती क्षेत्रमा भएका कमीकमजोरी, समस्या समाधान गर्न के कसरी गर्न सक्निछ भन्ने विषयमा उच्चस्तरीय आयोग आवश्यक छ। सरकार र जेनजी युवाबीचको १० बुँदे सहमतिमा पनि भ्रष्टाचार निण्न्त्रण गर्न आयोग बनाउने विषय उल्लेख छ।’

प्रगतिशील विचारधारामा विश्वास राख्ने भट्टराई ट्रेड युनियन र श्रमिक अधिकारको समर्थक भए पनि निजामती क्षेत्रमा दलअनुसारका संगठन राज्यका लागि घातक भएको धारणा राख्छिन्। आफूलाई नेतृत्वकर्ता भन्दा पनि ‘सहजकर्ता’ भन्न रुचाउने भट्टराई पार्टीभित्रै युवाले संघर्ष गरेर नेतृत्वमा आउनुपर्नेमा जोड दिन्छिन्।

‘प्रगतिशील विचारधारामा दृढ विश्वास राख्ने भएकाले यो पार्टीमा छु। ट्रेड युनियनको समर्थक हौं। श्रमिजीवीको अधिकार हुनुपर्छ भनेर अधिकारको कुरा गर्छौं भने निजामती क्षेत्रमा दलअनुसारको संगठन हुनु कति उचित हो? राज्यका लागि यो ठूलो दुर्घटना हो। यसको अन्त्य नभएसम्म समस्या समाधान हुँदैन,’ उनले भनिन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast