शिक्षकलाई गाउँपालिका अध्यक्षको चेतावनी : छोराछोरी जसरी नपढाउने भए जागिर छाडिदिनुस्

हिमाल प्रेस ९ पुष २०८२ १२:४०
470
SHARES
शिक्षकलाई गाउँपालिका अध्यक्षको चेतावनी : छोराछोरी जसरी नपढाउने भए जागिर छाडिदिनुस्

काठमाडौँ- पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले आफ्नै छोराछोरीलाई जसरी विद्यार्थीलाई पढाउन नसके पेसाबाट बिदा लिन शिक्षकलाई आग्रह गरेका छन्। गाउँपालिकाअन्तर्गतको एक विद्यालयको अनुगमनका क्रममा शिक्षकलाई खुला चौरमा राखेर अध्यक्ष भुसालले राम्रोसँग अध्यापन गराउन नसक्ने शिक्षकलाई पेसाबाट बिदा लिन आग्रह गरेका हुन्।

‘तपाईँहरूले राज्यले दिएको नुन खानुभएको छ। त्यसबाट घर चलाउनुभएको छ। तपाईँका छोराछोरीलाई पढाउनुभएको छ। विद्यालय आएर अर्काको छोराछोरीलाई पढाउनुभएको छ। आफ्ना छोराछोरीलाई अर्को विद्यालयमा पढाउने सरहरू, साथीहरू धेरै हुनुहुन्छ। आफ्नालाई राम्रो ठाउँमा पढाउनुपर्छ भन्ने तपाईँहरूको दिमागमा छ भने यी विद्यार्थी सबै तपाईँहरूका छोराछोरी हुन्। त्यही किसिमले पढाउनुहोला। पढाउनु भएन भने अपराध लाग्छ। अरू धेरै भन्न चाहिन, सकिँदैन भने छोड्ने हो। करले जागिर खाऊ कसैले भनेको छैन,’ अध्यक्ष भुसालले शिक्षकहरूसामु भने।

अध्यक्ष भुसालले पाठयोजना बनाएर, शैक्षिक सामग्रीको प्रयोग गरेर, पाठ्यक्रमको उद्देश्य पूरा हुने गरी शिक्षक निर्देशिका हेरेर पढाउन अनुरोध गरे। उनले भने, ‘पाठयोजना बनाएर, शैक्षिक सामग्रीको प्रयोग गरेर, पाठ्यक्रमअनुसारको उद्देश्य पूरा हुने गरी शिक्षक निर्देशिका हेरेर दैनिक कक्षामा जाने गर्नुहोला। घरमा तयारी नगरी विद्यालयमा आएर मात्रै पढाउनु भयो भने नतिजा राम्रो आउँदैन।’

शिक्षक स्तरमापन परीक्षामा शिक्षक कमजोर हुनुको कारण स्वयं शिक्षक भएको भुसालको भनाइ छ। ‘स्तरमापन परीक्षामा तपाईँहरू न्यून हुनुको कारण तपाईँ शिक्षकको जाँगर नहुनु हो। विद्यार्थी फेल भए भने मेरा छोराछोरी फेल भएर भनेर बुझ्न जरुरी छ,’ भुसालले भने।

अध्यक्ष भुसालको उक्त भनाइप्रति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पालिका अध्यक्ष वा मेयर यत्तिको कडा नभएसम्म विद्यालय शिक्षामा सुधार नआउने टिप्पणी गरे। ‘गाउँपालिका अध्यक्ष र नगरपालिका मेयर यत्तिको कडा नभएसम्म विद्यालय शिक्षामा सुधार आउन सक्दैन। अर्को कुरा विद्यालयको प्रधानाध्यापक पनि इमानदार र शिक्षाका लागि मरिमेट्ने हुनुपर्छ। पालिकाहरूले विद्यालयलाई राजनीति गर्ने थलो बनाउनु हुँदैन,’ मन्त्री पुनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast