माघ अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै

हिमाल प्रेस ८ पुष २०८२ १२:३६
18
SHARES
माघ अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै

काठमाडौँ- सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। नियमित राष्ट्रिय खोप तालिकाअनुसार एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो।

आज आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो।

कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले खोप कार्यक्रमका लागि करिब सम्पूर्ण तयारी भएको बताए।

उनले भने,‘खोप दिने समयमा निर्वाचन तथा चाडपर्वले केही प्रभावित बनाउन सक्ने भन्ने आकलन छ, तथापि माघको अन्तिमबाट सुरु गरेर फागुनको पहिलो साता अभियान सम्पन्न गर्ने योजनासहित तयारी गरिएको छ। यसबारे थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने छ।’

शाखा प्रमुख डा.गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ। गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो। गत वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइने छ।

‘विभिन्न वैज्ञानिक प्रमाण र खोप सल्लाहकार समितिका अनुसार एक मात्राको खोप लगाए पनि त्यसको प्रभावकारिता हुने भनिएपछि यसपटक एक मात्रा मात्र दिन लागेका हौँ’, डा.गौतमले भने,‘कुनै भ्रम र गलत सूचनामा विश्वास नगरी ढुक्क भएर खोप लगाउन लक्षित वर्गलाई हाम्रो आग्रह छ।’

बढीभन्दा बढीलाई खोप कार्यक्रममा सहभागी हुनका लागि विगतका सिकाइका आधारमा सचेतना फैलाउने काम भइरहेको उनले सुनाए।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान छ। महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको त्यस अवसरमा जानकारी दिइयो। पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको संक्रमण हुनु हो। सरकारले हाल १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप दिँदै आएको छ।

डा.गौतमले नेपालले खोप ‘कभरेज’को हिसाबले विकसित मुलुकको तुलनामा पनि उल्लेखनीय प्रगति गरेको सुनाउँदै खोपप्रति मानिसको सकारात्मक धारणा बनाउन सके यसलाई अझै बढाउन सकिने बताए।

प्रकाशित: ८ पुष २०८२ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast