काठमाडौँ- संयुक्त राष्ट्रसंघको अल्पसंख्यक मामिलासम्बन्धी विशेष प्रतिवेदक निकोलस लेभ्रा नेपाल भ्रमणमा आएका छन्। बिहीबार काठमाडौँ आएका उनी मंसिर २७ सम्म नेपालमा रहने छन्।
भ्रमणका क्रममा उनले राष्ट्रिय वा जातीय, धार्मिक र भाषिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई प्रभावित गर्ने कानुन, नीति र अभ्यासहरू, उनीहरूको प्रभावकारी राजनीतिक सहभागिता, पर्याप्त शिक्षा, न्यायमा पहुँच र अल्पसंख्यकहरूप्रति घृणास्पद अपराध र घृणास्पद अभिव्यक्तिसहित फौजदारी न्यायलगायतका विषयमा समीक्षा गर्नेछन्।
विशेष प्रतिवेदक लेभ्राले सरकारी पदाधिकारीका साथै अल्पसंख्यक समूह, नागरिक समाज संस्थाका प्रतिनिधि, धार्मिक अगुवा र अन्य सरोकारवालासँग भेटघाट गर्नेछन्।
काठमाडौँबाट भ्रमणको सुरूवात गरी उनी मधेश र कर्णाली प्रदेशसहित नेपालका विभिन्न क्षेत्रको भ्रमण गर्ने जनाइएको छ। यो भ्रमण नेपाल सरकारको निमन्त्रणामा भएको हो।
विशेष प्रतिवेदक लेभ्राले आफ्ना प्रारम्भिक निष्कर्ष र सिफारिसहरू १२ डिसेम्बरमा पुल्चोकस्थित युएन हाउसमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताइएको छ।
त्यस्तै उनले मार्च २०२६ मा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा आफ्नो प्रतिवेदन पेस गर्ने बताइएको छ।



