एमालेको जारी महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : रासस
काठमाडौँ– नेकपा एमाले नेतृत्व चयनका लागि भएको मतदान सुस्त देखिएको छ। मतदान बुधबार बिहान १० बजे थालिएको थियो। राति १० बजेसम्म १२ घण्टामा झन्डै १३ सय मत खसेको छ। एमालेले मतदान स्थल प्रवेशका लागि राति १२ बजेसम्मको समय थप गरेको छ।
नेता शंकर पोखरेलले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन आयोगवाट मतदान केन्द्र प्रवेशको समय १२ बजेसम्म थप गरिएको छ।’
मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोगमा छन्। महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दै छन्।
मतदान गर्न बाँकी महाधिवेशन प्रतिनिधिहरूलाई टोकन (कुपन) बाँडिएको छ। मतदानका लागि लाइनमा धेरै महाधिवेशन प्रतिनिधिहरू लामो समयसम्म उभिनुपर्ने भएकोले व्यवस्थापन गर्न टोकन बाँडिएको हो। मतदानका लागि एक पटकमा ५० जनालाई पठाउने गरिएको छ। एकजना महाधिवेशन प्रतिनिधिले मतदान गर्न कम्तीमा २५ देखि ४० मिनेटसम्म लाग्छ।
काठमाडौँको भृकुटीमण्डपमा एमाले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको छ। १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन्। पार्टीको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ।




