जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार साह ‘हिरा’ बालिका बलात्कार आरोपमा पक्राउ परेका छन्। विवाहपञ्चमीलगत्तै १४ वर्षीया बालिकालाई आफ्नै होटलमा जबजरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
साहलाई भारत बिहार राज्यको सीतामढी प्रहरीले पक्राउ गरी धनुषा प्रहरीलाई जिम्मा लगाएको बताइएको छ। धनुषा प्रहरीले भने नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको बताएको छ। घटना सार्वजनिक भएसँगै साह जनकपुरबाट फरार भएका थिए।
यही मुद्दामा प्रहरीले केही दिनअघि साहका दाइ मनोज साहलाई काठमाडौँबाट पक्राउ गरेको थियो। उनी अझै धनुषा प्रहरीको हिरासतमा छन्।
जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रहेका साह २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका थिए। उनी मेयरका निकटतम प्रतिद्वन्द्वी रहेका थिए। उनी मधेश उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन्।
जबरजस्ती करणी गरेको आरोपमा साहसहित चार जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो।
घटनाका आरोपी साह र घटना ढाकछोप गर्न आर्थिक लेनदेनको प्रयास गरेका पीडित बालिकाका मामा सञ्जय महासेठ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेशबहादुर बमले बताए।
डीएसपी बमले बलत्कारसम्बन्धी घटनामा अनुसन्धान गर्न साहलाई नियन्त्रणमा लिएको जानकारी दिए। घटनामा संलग्न रहेको भनिएका थप एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।



