एमाले महाधिवेशन : तीन हजार सवारीसाधन काठमाडौँ भित्रिए

हिमाल प्रेस २७ मंसिर २०८२ १०:५३ | Saturday, December 13, 2025
20
SHARES
एमाले महाधिवेशन : तीन हजार सवारीसाधन काठमाडौँ भित्रिए

काठमाडौँ- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन बीपी मार्ग हुँदै करिब तीन हजार सवारी साधनहरू काठमाडौँ भित्रिएका छन्।

महाधिवेशन उद्घाटनलाई लक्षित गर्दै पूर्वी नेपालका विभिन्न जिल्लाबाट ठुलो संख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरू सवारी साधनसहित काठमाडौँ प्रवेश गरेका हुन्।

सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, उदयपुर, खोटाङ, सोलुखुम्बु, महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायतका जिल्लाबाट आएका बस, मिनिबस, जिप, कार तथा भ्यानको संख्या करिब तीन हजार रहेको अनुमान गरिएको छ। ती सवारी साधनहरूमा झण्डा र ब्यानरसहित एमालेका नेता तथा कार्यकर्ताहरू काठमाडौं प्रवेश गरेका छन्।

सिन्धुलीस्थित ट्राफिक प्रहरी चेकपोइन्ट खुर्कोट र नेपालथोकका अनुसार झण्डा–ब्यानर अंकित सवारी साधन तथा निजी सवारी साधनसमेत गरी करिब ३० हजारको हाराहारीमा मानिसहरू एमालेको महाधिवेशनमा सहभागी हुन राजधानी गएको अनुमान गरिएको छ। मंसिर २६ गते बेलुकादेखि नै बीपी राजमार्गमा झण्डा र ब्यानरसहितका सवारी साधनहरूको लामो लर्को देखिएको ट्राफिक प्रहरीले जनाएको छ।

बाढी–पहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत रोशी खोलाको सडक खण्डमा पुनर्निर्माणको काम सञ्चालन भइरहेका बेला खोलाबाट डाइभर्सन सडक प्रयोग गरिएकाले विभिन्न स्थानमा सवारी जामसमेत भएको छ। यद्यपि, ट्राफिक प्रहरीले सवारी आवागमनलाई सहज बनाउन निरन्तर व्यवस्थापन गरिरहेको जनाएको छ।

राजधानी भित्रिने पूर्वी नाकाको बिपी राजमार्गमा अधिकांश सवारी साधनहरू एमालेका झण्डा र ब्यानरले सजिएका देखिएका छन् । यसले महाधिवेशन उद्घाटनप्रति कार्यकर्ता र समर्थकहरूमा रहेको उत्साह र सहभागिताको व्यापकता झल्काउने गरेको छ।

प्रकाशित: २७ मंसिर २०८२ १०:५३ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast