एमाले महाधिवेशन : शंकर पोखरेलको सन्देश, ‘हामी जुट्यौँ, हामी जित्छौँ’

हिमाल प्रेस १ पुष २०८२ ९:५७ | Tuesday, December 16, 2025
12
SHARES
एमाले महाधिवेशन : शंकर पोखरेलको सन्देश, ‘हामी जुट्यौँ, हामी जित्छौँ’

काठमाडौँ- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम घडीमा महासचिवका उम्मेदवार शंकर पोखरेलले उत्साह र अर्थपूर्ण सन्देश सार्वजनिक गरेको छन्।

पार्टी निर्माण, आन्दोलनको निरन्तरता र मूल नेतृत्वको रक्षा गर्ने सवालमा सदैव चट्टानी अडानका साथ उभिँदै आएका पोखरेलको उक्त सन्देशलाई महाधिवेशन प्रतिनिधिहरूले विशेष चासोका साथ लिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् व्यक्त गरिएको स्टाटसमा पोखरेलले पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीलाई जोड दिएको छन् । उनले भनेका छन्, ‘हामी जुट्यौँ, हामी जित्छौँ । पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार हो।’

सन्देशमार्फत् पोखरेलले एमालेको सामूहिक शक्ति र ऐक्यबद्धतामाथि विश्वास व्यक्त गरेका छन् । पोखरेलले एमालेका सबै नेता कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढेमा चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टी, आन्दोलन र राष्ट्रको हित सुरक्षित गर्न सकिने स्पष्ट संकेत गरेका छन् ।

‘हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ’ भन्ने उनको दोहोरिएको आह्वानले महाधिवेशनको माहोललाई थप उत्साहपूर्ण र एकतामुखी बनाएको छ ।

निर्वाचनको निर्णायक क्षणमा आएको यस सन्देशलाई एमालेभित्र संगठनात्मक अनुशासन, वैचारिक स्पष्टता र मूल नेतृत्वप्रतिको भरोसाको प्रतीकका रूपमा हेरिएको छ ।

यसअघि पार्टीका वरिष्ठ नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका थिए ।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ज्ञवालीले यो महाधिवेशन केवल संगठनात्मक प्रक्रियामा सीमित नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि समेत दूरगामी अर्थ राख्ने ऐतिहासिक क्षण भएको उल्लेख गरे ।

उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

यसै अवसरमा नेता ज्ञवालीले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे ।

“म सधैँ कमरेडहरूकै बीचमा छु र भविष्यमा पनि त्यहीँ रहनेछु,” भन्दै उनले कार्यकर्ता र प्रतिनिधिसँगको भावनात्मक सम्बन्ध र राजनीतिक प्रतिबद्धता पुनः दोहोर्‍याए ।

एमालेको भावी नेतृत्व र आगामी राजनीतिक दिशालाई निर्धारण गर्ने यस निर्णायक मतदानले पार्टीलाई थप एकताबद्ध, सशक्त र जनउत्तरदायी बनाउने विश्वास नेताहरूले व्यक्त गरेका छन् । पोखरेलले महासचिव पद दोहोर्‍याउने तयारी गरेका छन्। तर उनलाई यसपटक सुरेन्द्र पाण्डेले चुनौती दिइरहेका छन्। एमालेको अध्यक्षमा भने केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्दैछन्। एमालेको महाधिवेशन जारी छ।

प्रकाशित: १ पुष २०८२ ९:५७ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast