इटहरी– नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनले कोशी प्रदेशमा पार्टीभित्रको शक्ति सन्तुलन स्पष्ट रूपमा संस्थापन पक्षतर्फ ढल्किएको संकेत दिएको छ।
कोशी प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० नेतामध्ये आधा विजयी र आधा पराजित हुँदा अध्यक्ष केपी शर्मा ओली प्यानलले निर्णायक वर्चश्व कायम गरेको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवमा निर्वाचित भएका छन्। ओली समूहका खास मानिएका कार्की ओलीकै निर्वाचन क्षेत्र झापा– ५ का हुन्। यस्तै, पूर्व मुख्यमन्त्री शेरधन राई सचिवमै निर्वाचित भएका छन् भने पूर्वमुख्यमन्त्री भीम आचार्य उपाध्यक्षमा पराजित बनेका छन्।
राई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन्। उनी सुदन किरातीसँग भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका थिए।संस्थापनइतर पक्षका आचार्य सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका थिए।
यसअघिदेखि नै संस्थापनइतरका उनले ईश्वर पोखरेल समूहलाई सघाएका थिए। भूगोल क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी आचार्यकी श्रीमती निरादेवी खनालसमेत पराजित बनेकी छन्।
केन्द्रीय सदस्यमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, सांसद तिलकुमार मेन्याङ्बो, सांसद तिलचन पाठक र होमबहादुर थापा निर्वाचित भएका छन्। उनीहरू सबै ओलीको प्यानलबाट उम्मेदवार थिए।
राना मगरले एमालेको विधान महाधिवेशनमा ललितपुर महानगरपालिका २८ मा सडक पार गर्दै गरेकी ११ वर्यीया बालिकालाई ठक्कर दिदाँ विवादमा तानिएका थिए। हरिसिद्धी मावि अगाडिको सडकमा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएपछि गाडी नरोकीकन हुँइकिएको थियो।
यसैगरी कोशी सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी भने केन्द्रीय सदस्यमा पराजित भएका छन्। सुनसरी क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै हाल मन्त्री रहेका भण्डारीले ६२९ मत प्राप्त गरे। एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका भण्डारी ओली समूहमा परेका थिएनन्। तर, उनी ओली समूहमा खुल्दै आएका छन्।
यसैगरी संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले जम्मा ४४३ मत प्राप्त गरे। यस्तै, ईश्वर पोखरेल पक्षधर मानिएका सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारी र मोरङका सांसद लीलाबल्लभ अधिकारी पनि केन्द्रीय सदस्यमा पराजित भए।
यता, विराटनगर निवासी विनोद ढकाल पनि पराजित बनेका छन्। ईश्वर पोखरेल समूहका उनले विराटनगरमा आफ्नो ‘दबदबा’ बनाएका थिए। तर, केन्द्रमा भने उनी पराजित बनेका हुन्।
यसैगरी सुनसरीबाट भगवती चौधरी, जगदीश कुशियत र मञ्जु भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। तीनै जना ओली समूहबाट प्रतिस्पर्धा गरेका थिए। चौधरी सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् भने पूर्वमन्त्रीसमेत हुन्। उनले कांग्रेस नेता विजय गच्छदारलाई पराजित गर्दै पहिलोपटक संसदको यात्रा तय गरेकी थिइन्।
यसैगरी कुशियत कोशी प्रदेश सरकारका पूर्व मन्त्री हुन्। गत निर्वाचनमा उनी सुनसरी क्षेत्र नं. ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग पराजित बनेका थिए। भण्डारी भने धरान उपमहानगरकी पूर्वउपप्रमुख हुन् भने गत निर्वाचनमा प्रमुखमा पराजित बनिन्।
यसैगरी सुनसरी निवासी लक्ष्मी गौतम केन्द्रीय सदस्यमा पराजित बनेकी छन्। उनी इटहरी उपमहानगरकी पूर्व उपप्रमुखसमेत हुन्। उनले ओली समूहलाई सहयोग गरेकी भए पनि निर्वाचनमा भने प्यानलमा अटाएकी थिइनन्।
एमालेको ११औँ महाधिवेशनको निर्वाचन परिणामले कोशी प्रदेशमा पार्टीभित्रको शक्ति सन्तुलन स्पष्ट रूपमा अध्यक्ष ओली नेतृत्वको संस्थापन पक्षतर्फ ढल्किएको देखाएको छ। प्रदेश सरकारमा रहेका र ओली प्यानलबाट उम्मेदवार बनेका नेताहरूले सहज जित निकाल्दा समूहमा नपर्नेहरूले हार व्यहोरेका छन्।
विशेषगरी पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्य पक्षको पराजयले कोशीमा वैकल्पिक नेतृत्व उभ्याउने प्रयासलाई धक्का पुगेको देखिने जानकारहरू बताउँछन्।
एमालेको निर्वाचन परिणामले कोशी प्रदेशमा एमालेभित्र एकल नेतृत्व र एकदिशात्मक निर्णय प्रक्रियाको सम्भावना बढाएको छ।





