‘कलकतियावाली’ सिरियलको टिम चढेको गाडी दुर्घटना, स्थानीयवासीले लखेटे ट्राफिक प्रहरी

हिमाल प्रेस १८ मंसिर २०८२ १६:०६
14
SHARES
‘कलकतियावाली’ सिरियलको टिम चढेको गाडी दुर्घटना, स्थानीयवासीले लखेटे ट्राफिक प्रहरी

जनकपुरधाम- धनुषास्थित रूपैठामा आज (बिहीबार) दिउँसो भएको सडक दुर्घटनामा चर्चित मैथिली कमेडी युट्युबर ‘कलकतियावाली’ अविनाश झासहित पाँच जना घाइते भएका छन्। सुटिङका लागि जटहीतर्फ गइरहेका बेला भारतीय नम्बर प्लेटको स्कार्पियो यूपी ३२ एचआर ७०६८ दुर्घटनामा परेको हो।

जनकपुर-जटही ६ लेन सडकखण्डको रूपैठामा ट्राफिक प्रहरीले बीच सडकमा जाँच गरिरहेका बेला दुर्घटना भएको स्थानीयको भनाइ छ। ट्राफिक जाँच देखेर एक मोटरसाइकल चालक घुमेर विपरीत दिशामा भाग्न खोज्दा साेही दिशाबाट आइरहेको कलकतियावाली टिम सवार गाडीले सो मोटरसाइकल बचाउन खाेज्दा अनियन्त्रित भएर  दुर्घटना भएको प्रत्यक्षदर्शी सुनिल यादवले बताएका छन्।

साे दुर्घटनामा अविनाश झा (कलकतियावाली), श्यामकुमार राम ‘एठिंबा’, फुलो, अरुण विजयसहित पाँच जना घाइते भएका छन्। सबै घाइतेहरूको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि स्थानीयवासी भने ट्राफिक प्रहरीविरुद्ध ठूलो संख्यामा सडकमा उत्रिएका थिए। स्थानीयवासीले ट्राफिक प्रहरीलाई लखेटेका थिए। पछि प्रहरीहरू घटनास्थलबाट भागेर ज्यान जोगाएको जनाइएको छ।

घटनाबारे धनुषा ट्राफिक प्रहरी प्रमुख सूर्यबहादुर शाहीले दुर्घटनामा ट्राफिक प्रहरीको कुनै लापरबाही नभएको बताएका छन्। उनले भने, ‘हामीले चेकपोस्ट बोर्ड राखेर नै सवारी जाँच गरिरहेका थियौँ। एक मोटरसाइकल चालक चेकिङ देखेर भाग्न खोज्दा, सोही दिशाबाट आइरहेको स्कार्पियो अनियन्त्रित भई दुर्घटना भएको हो।’

मैथिली भाषामा निर्माण हुने ‘कलकतियावाली’ सिरियल नेपालका तराई-मधेश तथा भारतको मिथिला क्षेत्रमा धेरै लोकप्रिय छ। सुटिङका क्रममा टिम दुर्घटनामा परेको खबर आएपछि सामाजिक सञ्जालमा पनि कलाकारहरूको स्वास्थ्य अवस्थाबारे चासो बढेको छ।

प्रकाशित: १८ मंसिर २०८२ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast