शीतलहरले सडक चिप्लो हुँदा दाउन्नेमा जाम (तस्बिरहरू)

विनोद परियार १५ पुष २०८२ १२:१७ | Tuesday, December 30, 2025
50
SHARES
शीतलहरले सडक चिप्लो हुँदा दाउन्नेमा जाम (तस्बिरहरू)

बुटवल- शीतलहरका कारण बाटो चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्डमा गएरातिदेखि सडक अवरुद्ध भएको छ।

दाउन्ने पहाडको उकालो-ओरालो भागमा शीतलहरले सडक भिज्दा सवारीसाधन चिप्लिएपछि लामो जाम भएको हो। जामका कारण पूर्व-पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन्।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेका अनुसार शीतलहरका कारण सडक चिप्लो भएपछि सवारी साधनको ठूलो लाइन लागेको हो।

‘समस्या आइतबारदेखि नै देखिएको थियो, साँझदेखि सडक पूर्ण रूपमा ठप्प भयो,’ उनले भने, ‘अहिले सडक खुलाउने प्रयास भइरहेको छ।’

लामो जामका कारण कतिपय यात्रुहरू पैदल यात्रा गर्न बाध्य भएका छन्। निर्माणाधीन बुटवल-नारायणगढ ११४ किलोमिटर सडकको अधिकांश खण्डमा सवारी सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ। दाउन्ने क्षेत्रमा वान-वे बनाएर काम भइरहेकाले ओभरलोड सवारी साधन बिग्रिने समस्या समेत देखिएको छ।

काठमाडौँबाट बुटवल जाँदै गरेका यात्रु जगलाल नेपालीले लामो जामका कारण पैदल यात्रा गर्नु परेको बताए। ‘रातभरि दुःख पाइयो, बिहान ८ बजेसम्म पनि जाम खुल्ने अवस्था नदेखिएपछि दुई घण्टा पैदल हिँडेर बर्दघाट आइयो,’ उनले भने,‘सरकारले सडक निर्माणमा ढिलाइ गर्दा यात्रुले सास्ती भोग्नुपरेको छ।’

प्रकाशित: १५ पुष २०८२ १२:१७ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast